close

व्यक्तिगत घटना दर्ता गर्न घुम्ती शिविर चलाउँदै आँधीखोला

व्यक्तिगत घटना दर्ता गर्न घुम्ती शिविर चलाउँदै आँधीखोला

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ती शिविर सुरु भएको छ ।


आँधीखोला गाउँपालिका वडा नम्बर १ पञ्चमूल राजास्वारामा गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले पवनकाजी अधिकारी र भावना पौडेलको नवविवाहित जोडीलाई विवाह दर्ताको प्रमाणपत्र प्रदान गरी अभियान सुरु गरे ।

 

आँधीखोलाले व्याक्तिगत घटना दर्ता दिवस अवसर पारेर दर्ता शिविर सुरु गरेको हो । दर्ता शिविरबाट छुटेका व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ताको निवेदन दर्ता र गुनासो दर्तासम्बन्धी काम हुनेछन् । दर्ता शिविर आँधीखोलाका ६ वटै वडाका १८ स्थानमा सञ्चालन हुनेछन् । 


गाउँपालिकाले सेवाप्रदायक छनोट गरेर समयमै व्यक्तिगत घटना दर्ताका किताब डिजिटाइज गरी ६ वटै वडामा रहेका ढड्डामा रहेका ३४२०० जन्म, मृत्यु, विवाहजस्ता घटना दर्ता अनलाईन प्रणालीमा इन्ट्री गर्ने काम सकिइसकेको छ ।

 

गाउँपालिकाका पौडेलले समयमै आफ्ना घटना विवाह, जन्म, बसाइँसराइ, सम्बन्ध विच्छेद, मृत्यु साथै सामाजिक सुरक्षाका कार्यक्रममा दर्ता भएर राज्यबाट प्राप्त हुने सेवा-सुविधामा सहभागिता जनाउन आह्वान गरे ।

 

वडा नम्बर १ पञ्चमूलका वडाध्यक्ष लोकप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा वडा सदस्य नारायणप्रसाद अधिकारी, गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछाने, स्थानीय पञ्जिकाधिकारी गुरुप्रसाद ढकाल, सेवाप्रदायक संस्था आस्क नेपालका हरिप्रसाद ढकाललगायतले आ-आफ्नो मन्तव्य राखे । सभा सञ्चालन दर्ता सहायक बाबुराम विकले गरेका थिए ।

 

देशैभर सुरु भएको व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता विशेष अभियान सुरु भएको र आँधीखोलाको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो ।

 

सेवाप्रदायक संस्था आपसी सहयोग केन्द्र स्याङ्जाले पालिकाका ६ वटै वडामा ३÷३ दिन सञ्चालन हुने गरी १८ दिनसम्म व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता विशेष अभियान घुम्ती शिविर पञ्चमूलको राजास्वाराबाट सुरु गरेको हो । 

 

आँधीखोलाले पालिकाभित्रका नागरिकको घटना दर्ता गराउने कामलाई तीव्रता दिँदै छुटेकालाई समावेश गराउन शुक्रबारदेखि घुम्ती शिविरमार्फत अभियान सञ्चालन गरेको हो ।

 

शिविरमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता सँगसँगै नागरिकका गुनासासमेत सम्बोधन गरिनेछ ।

 

सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म एवं मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने र अरू घटना दर्ता पनि उल्लेख्य रूपमा बढाउने उद्देश्य राखेको छ ।