close

स्वमूल्यांकनमा मुसीकोटले पायो ७१.५ नम्बर 

स्वमूल्यांकनमा मुसीकोटले पायो ७१.५ नम्बर 

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाको आयोजना र प्रदेश प्रशिक्षण लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा समृद्ध प्रदेश खुसी जनताको नारासहित स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।

 

उक्त कार्याशाला नगरपालिकाको वडा नम्बर ७ रुद्रावती बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको थियो ।

 

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल र दुर्बल पक्ष पहिचान गर्न विकास तथा सुशासनमा रहेका कमी-कमजोरीको जानकारी लिन र आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न उक्त कार्याशाला आयोजना गरिएको हो ।

 

नगरपालिकाहरूबीचको तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्वमूल्यांकनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय अधिकारी विजयकुमार कार्कीले बताए ।

 

मुसीकोटले १० विषय क्षेत्रमा १०० वटा सूचक र १०० अंकभारलाई आधारित मानेर स्वमूल्यांकन गर्दा ७१.५ नम्बर प्राप्त गरेको छ । मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गरेको कार्यसम्पादनका आधारमा उक्त अंक दिइएको हो ।

 

स्थानीय तहको स्वमूल्यांकन प्रत्येक वर्ष गर्नुपर्ने प्रावधान छ । संघीय मामिला मन्त्रालयले स्वमूल्यांकन नतिजाको आधारमा उत्कृष्ट स्थानीय तहको घोषण गर्न सक्ने कानुनी व्यवस्था रहेको स्वतन्त्र विज्ञ तुल्सीराम न्यौपानेले जानकारी दिए ।


मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले गुल्मीमा नयाँ नगरपालिकाको रूपमा स्थापना भएको मुसीकोटले राम्रो कार्यसम्पादन गरेकामा जनप्रतिनिधि र कर्मचारीलाई बधाइ दिए ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगर कर्मचारी संयन्त्रको योगदानकै कारण उत्कृष्ट नम्बर ल्याउन सफल भएको बताए ।

 

नगरपालिका प्रमुख सापकोटाको सभाध्यक्षता रहेको कार्यक्रममा सहजीकरण विजयकुमार कार्की, तुल्सीराम न्यौपाने र नगरपालिकाबाट सूचना प्रविधि शाखा प्रमुख समुन्द्रविक्रम रायमाझीले गरेका थिए । 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले सञ्चालन गरेको उक्त कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।