close

कालीपुलमा बसपार्क बनाउँदै बेनी

कालीपुलमा बसपार्क बनाउँदै बेनी

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा बसपार्क निर्माण सुुरु भएको छ । बेनीको वडा नम्बर ८ मा पर्ने कालीपुलमा बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले २१ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । 


२०६४ देखि प्रयोगमा आएको बसपार्कलाई व्यवस्थित बनाउन तयार पारिएको डिपिआर ३ वर्षपछि कार्यान्वयनमा आएको हो । बेनी नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले डिपिआरअनुसार बसपार्क निर्माण सुरु भएको जानकारी दिए ।

 

‘बेनी नगरपालिका, प्रदेश सरकार र सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले पूर्वाधार निर्माण सुरु गरेका छौँ’, उनले भने, ‘सघन सहरी कार्यालयले थप ५ करोड रुपैयाँ बजेटबाट बसपार्कमा टर्मिनल भवन निर्माणका लागि ठेक्का आह्वानको तयारी गरेको छ ।’


सघन सहरी कार्यालयले बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालीगण्डकी किनारमा स्थानान्तरणको काम सुरु गरेको छ । ३१ लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको शंकर निर्माण सेवाले खेलमैदान ढलान र प्याराफिट निर्माण गर्न लागेको हो ।

 

खेलमैदान भएको ठाउँमा बसपार्क बनाउन स्थानान्तरण गर्न लागिएको हो । ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । आगामी असारभित्र खेलमैदान स्थानान्तरण गरिसक्ने शंकर निर्माण सेवाका सञ्चालक समीर पौडेलले बताए ।

 

बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा बसपार्कको ट्याक्सी पार्किङ गर्ने ठाउँमा ढलान भइरहेको छ । प्रदेश सरकारले ५० लाख र नगरपालिकाले ३४ लाख रुपैयाँ विनियोजन गरेको योजना निर्माणका लागि कालिका इन्फ्रास्ट्रक्चर प्रालिले ५० लाख रुपैयाँमा ठेक्का लिएको छ ।


नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले १६२ घनमिटर आरसिसी ढलान र २१ मिटर नाली बनाउन लागिएको बताए । यसअघि गत वर्ष वडा कार्यालयको २५ लाख रुपैयाँ लागतमा यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय, टिकट काउन्टर र चिया तथा खाजा पसलका लागि टहरा निर्माण भएको थियो ।

 

यसैगरी तत्कालीन सहरी बिकास कार्यालयले यसअघि ४५ लाख रुपैयाँ लागतमा ट्राफिक प्रहरी कार्यालय अगाडिको भागमा ढलान गरेको थियो । बसपार्कमा व्यवस्थित संरचना निर्माण, कालोपत्रे र ढलान हुन थालेपछि धुलो, हिलो र अव्यवस्थित पार्किङको समस्याबाट मुक्ति पाउने स्थानीय व्यवसायी सम्मरबहादुर थापाले बताए ।


बसपार्कलाई व्यवस्थित बनाउन अहिले टिकट काउन्टर र चिया तथा खाजा पसल सञ्चालन भएका टहरा हटाइनेछ । नगरपालिकाले भाडामा लगाएको जग्गामा बनेका ती संरचनाको सम्झौताको म्याद थपिएको छैन ।

 

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले कालीपुल क्षेत्रमा करिब ८०० मिटर सडक हालै कालोपत्रे गरेको छ । कालीपुल म्याग्दी भित्रने मुख्य नाका हो । कालीपुल भएर सवारी साधन मुस्ताङ आउजाउ गर्छन् ।


२०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क स्थापना भएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गरिन्छ । गाडी छुटाउने र यात्रु ओर्लने ठाउँ पनि कालीपुल नै हो ।


कालीपुल बसपार्क क्षेत्रमा २० रोपनी बढी सार्वजनिक जग्गा छ । बसपार्क क्षेत्रलाई ढलानका साथै टर्मिनल भवनसमेत बनाउने डिपिआरमा उल्लेख छ । आगामी वर्ष पनि बजेट विनियोजन गरेर डिपिआरअनुसारका पूर्वाधार निर्माण गरेर बसपार्कलाई पूर्णता दिन पहल गरिएको वडाध्यक्ष बराइलीले बताए ।