close

द्वन्द्वले वियोग, दुई दशकपछि बल्ल पुनर्मिलन 

द्वन्द्वले वियोग, दुई दशकपछि बल्ल पुनर्मिलन 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन् । १७ वर्षको उमेरमा २०५८ मा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन् ।

 

नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दरपुर) पुर्‍याएका हुन् ।

 

साविकको चिसापानी वडा नम्बर १ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाइँ सरेका हुन् । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानकी आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग झन्डै २ दशकपछि भेट भएको छ ।

 

वियोगपछिको पारिवारिक मिलनले कोइराला परिवारमा खुसी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाइ र बहिनीलाई ठम्याउन सकेका छैनन् । ‘घरमा सानो बहिनी छ’ भनेर नेपालगञ्चबाट चकलेट लिएर आएका विज्ञानले विवाह गरिसकेकी बहिनी तुलसालाई पनि चिन्न सकेनन् । 


उनले तुलसालाई हेर्दै ‘अलि-अलि अनुहार मिल्यो तर पहाडमा मेरी बहिनी सानी छन्’ भन्ने गरेका छन् । बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि उनीहरू सानै रहेको बताउने गरेका छन् । 

 

परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले बितिसकेकी मावली हजुरमालाई मात्र फोटो हेरेर चिन्न सके । उनी शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा समेत रोगी देखिएका छन् । ‘मेरो भाइबहिनी सानो छ पहाडमा भन्नुहुन्छ,’ सुवासले भने, ‘हामी कसैलाई पनि चिन्नुभएको छैन । बूढी भएकीले आमालाई पनि चिन्नुभएको छैन ।’ 

 

मुलुकमा सशस्त्र द्वन्द्वको समय थियो । सेना आएर ‘माओवादी हौ भन्थे’, माओबादीका कार्यकर्ता आएर ‘सेनालाई सहयोग गर्‍यौ’ भन्थे । राज्य र विद्रोही पक्षको चेपुवामा परेका विज्ञानले त्यही बेला भारत जाने भन्दै घर छाडेका थिए ।

 

तर, उनी भारत नगई काठमाडौं पुगेको खुलेको छ । विज्ञानका अनुसार उनी सानेपाबाट अपहरणमा परेका थिए । गाडीमा आएका २ महिला र १ पुरुषले उनलाई कम्बलले छोपेर बेहोस बनाएर बन्द कोठामा पु¥याएका थिए । यो कोठाबाट बाहिरिन उनलाई दुई दशक लाग्यो । 

 

कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको विज्ञानले बताउने गरेका छन् । उनको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।

 

भेरी अञ्चल अस्पतालमा उपचार गर्दा विज्ञानको फियो निकालिएको पुष्टि भएको भाइ सुवासले बताए । उनको बीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि ७ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । 

 

गत २४ चैतमा नेपालगञ्जबाट प्रकाशित कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको नीलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । 

 

नीलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाँच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो । विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाइ सुवासको २६ चैतमै नेपालगञ्जमा भेट भएको थियो ।


१९ वर्षसम्म घरबाहिर निस्कन नदिएर बन्धक बनाइएका विज्ञानलाई १८ चैतमा राती सुतेका बेला बेहोस पारेर काठमाडौंको बल्खु आसपास जंगलमा छाडिएको बताइएको छ । 

 

त्यसभन्दा ३ दिनअघि नै ‘यसको काम छैन, लगेर फाल्नुपर्छ’ भन्ने संवाद सुनेको विज्ञानको भनाइ उद्धृत गर्दै सुवासले बताए । जंगलमा छाडिएपछि उनी ट्रकमा झुन्डिएर नेपालगञ्ज पुगेका थिए । 

 

आफूलाई विदेशी भाषा बोल्ने महिलाले यौन शोषण गरेको विज्ञानले बताउने गरेका छन् । बुबाको २०५३ मा मृत्यु भएपछि मीना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन-पालन गरेर हुर्काएकी थिईन् । देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन् । उनका दिदी, भाइ, बहिनी सबैको विवाह भइसकेको छ । 

 

विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी छ । उनले ‘थोडा-थोडा’ भन्ने हिन्दी शब्दबाहेक अन्य भाषा नेपाली मात्र बोल्ने गरेका छन् । 

 

विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान सुरु गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उपाध्यक्ष बाजिन्द्र विष्टले बताए । आर्थिक अवस्था कमजोर भएकाले कोइराला परिवारले उनको उपचारका लागि सहयोगको याचना गरेको छ ।