close

नमोबुद्धमा नमुना युवा सभाभ्यास 

नमोबुद्धमा नमुना युवा सभाभ्यास 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका युवाहरूका लागि नेतृत्व विकास गर्ने उद्देश्यसहित नमुना नगर युवासभाको अभ्यास कार्यक्रम सुरु भएको छ ।


आइतबारदेखि सुरु भएको कार्यक्रमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे ।

 

कार्यक्रम नमोबुद्ध नगरपालिका नगर युवा परिषद्को आयोजना तथा राष्ट्रिय युवा परिषद् तथा सरोकार समाज नेपालको समन्वयमा सञ्चालन गरिएको हो । 

 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका १६ देखि २४ वर्षसम्मका ३५ जना युवाको सहभागिता छ । सहभागीलाई नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनाल र युवा अभियन्ता सञ्जीव न्यौपानेले प्रशिक्षण दिनेछन् । 

 

मंगलबारसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तिमल्सिनाले नेतृत्व विकासका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएकामा त्यसैको निरन्तरतास्वरूप नमुना नगर युवासभाको अभ्यास कार्यक्रम आयोजना गरिएको बताए । नगरपालिकामा सबै क्षेत्रमा समान प्रतिनिधित्वको सुनिश्चितता गरिएको बताउँदै तिमल्सिनाले युवाहरूका लागि विशेष काम गर्ने उद्देश्यसहित नगर युवा परिषद् गठन गरिएको जानकारी दिए ।

 

उनले कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्दै लैजान युवालाई आग्रह गरे थिए । राजनीति पेसा नभई सेवा भएको बताउँदै नगरप्रमुख तिमल्सिनाले राजनीतिक क्षेत्रमा युवाहरूको सहभागिताले समृद्ध नेपालको अभियानमा थप टेवा पुग्ने धारणा राखे ।


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राज्यको मार्गचित्र कोर्ने अभ्यासको थालनी नमोबुद्ध नगरपालिकाले गरेको बताए । हुलदंगा, जुलुस र धर्ना मात्रै राजनीति नभई राज्यसत्ता सञ्चालनका लागि राजनीति आवश्यक रहेको र यस्ता कार्यक्रमले राजनीतिक क्षेत्रमा युवाहरूको संलग्नतामा वृद्धि हुने उनको भनाइ छ ।


समाज परिवर्तनका लागि संवाहक बन्नसमेत कार्यक्रममा सहभागी युवाहरूलाई उनले आग्रह गरे । यस्तै, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले युवालाई जिम्मेवार बनाउन, युवाको सवाल पहिचानसहित समाधानका उपाय निकाल्न कार्यक्रम आयोजना गरिएको बताए ।

 

उनले युवाका सवाल र समस्या पहिचान गर्दै समाधानका उपायसहितको विवरण नगरपालिकामा पेस गर्ने जानकारी दिए । युवाको प्रतिभा, क्षमता पहिचानका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।


नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव जनार्दन रिजालले युवाहरूका लागि राजनीतिक एवं कानुनी अभ्यास सिक्ने अवसरका रूपमा कार्यक्रम आयोजना भएको बताए ।

 

यस्ता कार्यक्रम व्यक्तित्व विकासका लागि मौकाको रूपमा रहेको भन्दै उनले क्षमता विकास, शिक्षा आर्जन र सामाजिक कार्यमा ध्यान दिइनुपर्ने आवश्यकता उनले औँल्याए ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै युवा अभियन्ता सञ्जीव न्यौपानेले स्थानीय सरकार सञ्चालन, युवाका सवाल एवं माग पहिचान, चेतना निर्माणमा युवाको सहभागिता, लोकतन्त्र र यसका अभ्यास तथा नेतृत्व विकासबारे युवाहरूलाई प्रशिक्षण दिइने जानकारी दिए । 

 

कार्यक्रमको सञ्चालन नगर युवा परिषद्का कार्यकारी सदस्य लक्ष्मीराज चिमोरियाले गरेका थिए । सोही अवसरमा नगर युवा परिषद्को लोगोसमेत सार्वजनिक गरिएको थियो ।