close

७२ वर्षमा उठिबास, २५० परिवारको विचल्ली 

७२ वर्षमा उठिबास, २५० परिवारको विचल्ली 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ पोखराका उमेर ७२ वर्षका रति पार्की । आँखाले साथ दिन छाडेपछि चस्माको सहारा लिन्छन् ।

 

बाजे प्रताप पार्की, बुबा वीरपल पार्की र उनले यही ठाउँमा बाल्यकाल गुजारे । तर, उनले भोगचलन गरेको जग्गा अहिले आएर उग्रतारा क्षेत्र विकास समिति गुठी जमिनको लालपुर्जा बनाउन प्रयासरत छ ।

 

बाजेबुबाको पालादेखि भोगचलन गरेको जग्गा अरूले आफ्नो बनाउन विभिन्न हतकन्डा अपनाएपछि उनीलगाएत सिंगो गाउँ चिन्तित छ । गाउँका अशिक्षित व्यक्तिलाई झुक्काएर आफ्नो बनाउन खोजेको भन्दै उनी आक्रोशित छन् ।

 

जग्गा भोगचलन गरेको कागजात आफूहरूसँग रहेको पार्कीले बताए । आफूले जग्गाको रसिद तिरेका बताउँदै उनले पोत तिरेका रसिदसमेत देखाए ।

 

‘उग्रताराको जुन वास्तविक गुठी हो, उसको क्षेत्रमा ठूल्ठूला घर बन्ने । उनीहरूले आफ्नो बनाउने । हाम्रो जमिन गुठीको नाममा राख्ने,’ पार्कीले भने, ‘हामीहरू दलित गरिब भएकाले हेप्ने । जानकारीबिनै उठिबास गराउँदै छन् ।’

 

अढाई सय परिवार सडकमा आउँदै

 

अमरगढी नगरपालिकाका विभिन्न वडामा गरी ४० वटा कित्ता उग्रतारा गुठी भनेर फिल्ड बुकमा देखिएको छ । ४० वटा कित्ताको क्षेत्रफल १ सय ५८ रोपनी छ । यो जमिनको भोगचलन पुस्तौँदेखि यहाँका स्थानीयले गर्दै आएका छन् ।

 

तर, उग्रतारा क्षेत्र विकास समितिले फिल्ड बुकमा गुठी कायम भएको जमिनको लालपुर्जा बनाउने प्रयास गरेपछि यहाँका अढाई सय परिवार सडकमा आउने भएका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोग डडेल्धुरामा स्थापना भएसँगै समिति र स्थानीय नागरिकबीच द्वन्द्व सिर्जना भएको छ ।

 

यो क्षेत्रमा पहिले वनजंगल थियो । यस क्षेत्रमा बसोबास गर्नेका पूर्वजहरूले खुन पसिना बगाएर बस्ती बसालेको स्थानीय बताउँछन् । उब्जाउ कमी हुने भएकाले यस क्षेत्रका नागरिक बालबच्चाको पालनपोषणका लागि तराई जाने गरेका छन् ।

 

आफूहरू तराई गएको मौका छोपेर चोरीछिपी गुठीका नाममा हालेको जमिनको लालपुर्जा पाउनुपर्ने संघर्ष समिति संयोजक दत्ति पार्कीले बताए । ‘हामीले भोगचलन गरेको जमिन समितिले आफ्नो भन्दै अदालतमा मुद्दा दिएको छ’, उनले भने, ‘हामीले पाउनुपर्ने भनेर प्रतिवादी दिए विफल भयौँ ।’

 

आफूले भोगचलन गरेको जमिनको लालपुर्जा नपाए सडकमा जाने उनले चेतावनी दिए । लालपुर्जा नपाए आफूहरूको परिवार सडकमा आउने र केही भए सरकारले ग्यारेन्टी लिनुपर्ने उनको माग छ ।

 

जिल्ला अदालत डडेल्धुरामा मुद्दा

 

उग्रतारा क्षेत्र विकास समितिले लालपुर्जा पाउनुपर्ने भन्दै जिल्ला अदालत डडेल्धुरामा निवेदन पेस गरेको छ । स्थानीयले पनि भोगचलनका आधारमा जमिनको लालपुर्जा पाउनुपर्ने भन्दै अदालतमा रिट दायर गरेका छन् ।

 

हालको अमरगढी नगरपालिका वडा नम्बर ३ आइतदेखि वडा नम्बर ७ को पोखरासम्म उग्रताराको गुठी जमिन करिब १७ हजार रोपनी रहेको बताइन्छ । तर, लालपुर्जा नहुँदा गुठी जमिन देखिँदैन ।

 

२०३३ को नापीमा अधिकांश जमिन व्यक्तिका नाममा दर्ता भएको समितिको दाबी छ । केही समुदायले भोगचलन गरेको जमिन भने दर्ता गरिएको छैन ।

 

दर्ता छुटपिट संघर्ष समिति बनाई अहिले अमरगढी वडा नम्बर ७ का स्थानीय आफूले उपभोग गरिरहेको जमिन दर्ता गरी लालपुर्जा पाउनुपर्ने पक्षमा उभिएका छन् । समिति भने आफ्नो नाममा दर्ता गरी लालपुर्जा पाउनुपर्ने पक्षमा छ ।

 

पुस्तौँदेखि आफूहरूले जमिन उपभोग गरिरहेकाले लालपुर्जा पाउनुपर्ने स्थानीयको माग छ । स्थानीयले आफूहरूसँग जोता पुर्जा, घरको कर तिरेको प्रमाण, कागजात, ७, १० फाराम र कर तिरेको ४ नम्बर फारामका आधारमा जमिन आफ्ना नाममा दर्ता गराइपाऊँ भनी अदालतमा निवेदनसमेत दिएका छन् ।

 

नेपालको संविधानमा भूमिहीनलाई भूमि दिने व्यवस्था छ । तर, यहाँ कमाइ खाइरहेको भूमिलाई गुठीका नाममा लालपुर्जा बनाई सयाँै परिवारको उठिबास गर्ने काम भइरहेको स्थानीयको दुखेसो छ । 

 

समितिका सदस्यलाई झुक्याएर हस्ताक्षर

 

उग्रतारा मन्दिर अमरगढी नगरपालिका वडा नम्बर ८ मा पर्छ । मन्दिर छेउछाउको जमिन स्थानीय साँकी जातिका समुदायले भागबन्डै गरी पक्की घर निर्माण गर्ने काम भइरहेको स्थानीयको आरोप छ ।

 

मन्दिर छेउछाउको जमिन अतिक्रमण नरोकी पुस्तौँदेखि आफूले भोगचलन गरिरहेको जमिनमा समितिले गुठी भएको दाबी गर्दै आएको स्थानीयको गुनासो छ । मन्दिर छेउछाउमा केही वर्षयता मात्रै अतिक्रमण गरी घर, टहरा निर्माण भइरहेको वडा नम्बर ७ का स्थानीय पदम पार्की बताउँछन् ।

 

समितिको सदस्य भएको समय आफूहरूलाई झुक्काएर हस्ताक्षर गराएएको टीका पार्कीको दाबी छ । ‘मलाई कालो अक्षर भैँसी बराबरजस्तै हो’, पार्की भन्छन्, ‘उग्रतारा क्षेत्रभित्र ठूल्ठूला रडको प्रयोग गरेर भवन बनाउने भन्नुभयोे । हस्ताक्षर गरेँ ।’

 

उग्रतारा मन्दिर क्षेत्र नजिकको जमिन होला भनेर हस्ताक्षर गरे पनि वडा नम्बर ७ पोखरा क्षेत्रमा गुठीको जमिन छ भन्ने आफूलाई जानकारी नभएको हस्ताक्षर गर्ने समितिका सदस्यको भनाइ छ । तत्कालीन समय पूर्वपञ्च र मुखियाहरूको लापरबाहीका कारण समस्या आएको समितिका सदस्य बताउँछन् ।

 

के भन्छन् जनप्रतिनिधि

 

यस क्षेत्रका नागरिकले जग्गा भोगचलन गरेबापत अमरगढी नगरपालिकामा समेत दस्तुर बुझाएका छन् । तर, अहिले स्थानीयको समस्यामा अमरगढी नगरपालिकाले चासो दिएको छैन ।

 

२०३३ मा फिल्ड बुक भएको जग्गालाई समितिले एकाएक आफ्नो बनाउन खोज्नु अनुपयुक्त भएको वडा नम्बर ७ का वडाध्यक्ष खडक बोहरा बताउँछन् । पुर्खौंदेखि बसोबास गरेका यहाँका सयौँ स्थानीयको उठिबास गर्न नहुने उनको बुझाइ छ ।

 

‘गरिब घरपरिवारको उठिबास गर्न खोज्दै छन् । २०३३ देखि जमिन भोगचलन हुँदा समितिले एउटा पनि निवेदन दिएन । जग्गा दर्ता पनि गरेन । अदालतमा मुद्दा पनि गरेन,’ उनले भने, ‘अहिले एउटै परिवारको सयौँ जनसंख्या भयो । मुद्दा दर्ता गरिनु उपयुक्त होइन ।’