close

इलाममा भेटिए कोरोना भाइरसका नयाँ संक्रमित 

इलाममा भेटिए कोरोना भाइरसका नयाँ संक्रमित 

Trulli
ADVERTISEMENT

इलाम- इलाममा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । कोरोना चेकजाँचका क्रममा १ जना व्यक्तिमा संक्रमणको पुष्टि भएको जनस्वाथ्य कार्यालयले जनाएको छ । 

 

जिल्लामा कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड-१९ संकट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

 

सूर्योदय नगरपालिका वडा नम्बर ११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । उनको झापाको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

संक्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य ५ जना व्यक्तिको सोमबार स्वाब संकलन गरिँदै छ ।


पहिलो चरणमा भने २९६ जना संक्रमित भएका थिए । कोरोनाका कारण जिल्लामा १३ जनाको मृत्यु भएको थियो । इलाममा गत पुस मसान्तसम्म ६०९५ जनाको पिसिआर परीक्षण गरिएको तथ्यांक छ ।

 

हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण

 

कोरोना देखिएपछि इलाम र झापाको सीमाना जोरकलशमा हेल्थ डेक्स राखिने भएको छ । नेपाल-भारत आजाउको पशुपतिनगर नाकामा पनि स्वास्थ्य परीक्षण गरिने कोभिड-१९ संकट व्यवस्थापन समितिले बताएको छ ।

 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोरकलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

 

नेपाल–भारतको मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षणका साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिने भएको छ ।

 

नाकाबाट आउने यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शंकास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण एवं मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

 

बैठकले स्यानिटाइजर, मास्क प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ ।

 

७ वैशाखदेखि भ्याक्सिन लगाइँदै


सरकारले दोस्रो चरणको कोभिड भ्याक्सिन इलाममा ७ देखि ११ वैशाखसम्म लगाउने भएको छ । गत १४ देखि २४ माघ र २ देखि ११ फागुनसम्म खोप लगाउनेलाई मात्र दोस्रो चरणको खोप दिइने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

 

सदरमुकाममा दोस्रो चरणको खोप लगाउने संख्या बढी रहेकाले ७ देखि ११ वैशाखसम्म खोप लगाउने तयारी छ । इलाम नगरपालिकाबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मंगलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने ८ र ९ वैशाखमा खोप लगाउने तयारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए ।

 

इलाममा २ वटा कोभिड अस्पताल सञ्चालन

 

जिल्लामा २ वटा कोभिड अस्पताल सञ्चालनमा छन् । रोङ गाउँपालिका र माई नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा रहेको स्वाथ्य कार्यालयले जनाएको छ ।

 

१ जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा कार्यरत छ । यसअघि कोभिड संक्रमण शून्यमा झरेपछि बन्द भएका इलामस्थित आइसोलेसनलाई पनि पुनः तयारी अवस्थामा राखिएको छ ।