close

घुर्मी-कटारी-मिर्चैया सडकः बन्द गराउने पालो यातायात व्यवसायीको

घुर्मी-कटारी-मिर्चैया सडकः बन्द गराउने पालो यातायात व्यवसायीको

Trulli
ADVERTISEMENT

खोटाङ- सडक स्तरोन्नतिको माग गर्दै खोटाङ यातायात प्रालिले घुर्मी-कटारी-मिर्चैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ । 

 

सिराहाको मिर्चैया-उदयपुरको कटारी-घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले सोमबारदेखि सो सडक खण्डमा अनिश्चित कालका लागि आफ्ना सवारी साधन आउजाउ बन्द गराएको हो । 

 

सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने मिर्चैया-घुर्मी-कटारी सडक खण्डको ओटासिल पिच उप्किएपछि जीर्ण बनेको तथा दुर्घटनाका कारण जनधनको क्षति हुँदा पनि राज्यको ध्यान नपुगेको भन्दै प्रालिले अनिश्चितकालीन यातायात बन्द गरेको बताएको हो ।

 

आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा मिर्चैया-घुर्मी-कटारी सडकको २ लेन विस्तार एवं कालोपत्रेका लागि बजेटको सुनिश्चितता नभएसम्म एम्बुलेन्सबाहेकका यातायात साधन अनिश्चितकालका बन्द गरिएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए ।

 

घुर्मी-कटारी-मिर्चैया सडकमा एम्बुलेन्सबाहेक सबै खाले यातायात चल्न नदिइएपछि दिक्तेलबाट धरान, विराटनगर र बिर्तामोड आउजाउ गर्ने यात्रु भने मारमा परेका छन् । माग पूरा नभए थप आन्दोलनका कार्यक्र अघि बढाइने यातायात प्रालिका अध्यक्ष राई र महासचिव रामकुमार हिङमाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

हाल जीर्णावस्थामा पुगेको मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको माग गर्दै खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु उद्योग वाणिज्य संघले ३१ चैतमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापनपत्र बुझाएका थिए । 

 

तराईसँगको लिंक रोडको रूपमा रहेको सडक जीर्ण हुँदा यात्रा गर्नदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्य वस्तु ढुवानीमा सकस भइरहेकाले मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको माग राखिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए ।