close

खोटाङमा व्यावसायिक योजना बनाएर आयआर्जन गर्ने ७६ प्रतिशत 

खोटाङमा व्यावसायिक योजना बनाएर आयआर्जन गर्ने ७६ प्रतिशत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा वैदेशिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यावसायिक योजना बनाएर आयआर्जन सुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पाले सोमबार दिक्तेलमा आयोजना गरेको सुरक्षित आप्रवासनसम्बन्धी पत्रकार अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

 

सुरक्षित आप्रवासन परियोजना (सामी) ले आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा वित्तीय साक्षरता कक्षामा सहभागी भएका वैदेशिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यावसायिक योजना बनाएर विभिन्न व्यवसाय अपनाई आयआर्जन सुरु गरेको जानकारी दिइएको हो । 

 

कार्यक्रममा सामीका कार्यक्रम संयोजक सन्तोष राईले वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाव राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको बताए ।

 

वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना) ले विदेशमा रहेका आफन्तबाट महत्त्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ । 

 

वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका १ हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेन्टलाई पैसा तिरे बराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए । 

 

यस्तै, आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्धार जेल, मृत्युदाबी भुक्तानी तथा अंगभंगलगायत ५८ वटा केश आएकामध्ये २९ वटा सफल भएको, २२ वटा प्रक्रियामा रहेको र ७ वटा असफल भएको परियोजनाले बताएको छ । 

 

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ-नयाँ शैली अपनाएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलको भनाइ छ ।

 

कार्यक्रम बाल सेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालको प्रमुख आतिथ्य एवं उपप्रमुख वीणादेवी राईको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । 

 

नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपीलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।

 

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तथा तालिम, निःशुल्क कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालनलगायत काम गर्दै आएको छ ।