close

माडीमा नयाँ प्रशासकीय अधिकृत: कार्यकाल सुरु नहुँदै विवाद

माडीमा नयाँ प्रशासकीय अधिकृत: कार्यकाल सुरु नहुँदै विवाद

Trulli
ADVERTISEMENT

माडी(चितवन)- चितवनको माडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउन लागेका अर्जुन गौतमको कार्यकाल सुरु नहुँदै विवादमा परेको छ ।

 

दोलखास्थित जिरी नगरपालिकाबाट माडीको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका गौतमलाई पदस्थापन गराउने कि नगराउने विषयमा नगरपालिकाभित्रै विवाद देखिएको हो ।

 

नगरपालिकाभित्र नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षीय जनप्रतिनिधि हालका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालकै निरन्तरताको पक्षमा देखिएका छन् ।

 

एमालेको ओली पक्षीय र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नयाँ प्रमुख प्रशासकीय अधिकृतले पत्र बुझिसकेकाले पदस्थापन हुनुपर्ने पक्षमा छन् ।


विवादकै बीच माडी वडा नम्बर ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतोलाई फोन गरी गालीगलैज गरेको आरोप लागेको छ । 

 

नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतमलाई माडी ल्याउन चालक र गाडी पठाएकामा पोखरेलले अपशब्द प्रयोग गरी हाजिर गराउन नदिने भन्दै धम्की दिएको उपप्रमुख महतोले बताइन् ।

 

यस विषयमा त्रिपक्षीय छलफल गर्ने भनी नगरप्रमुख ठाकुर ढकालले आश्वासन दिए पनि बेवास्ता भएको महतोले जानकारी दिइन् ।

 

सोमबार दिनभर कार्यकक्षमै रहे पनि नगरप्रमुखले आफूसँग कुनै छलफल नगरेको उनको गुनासो छ ।