close

कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै

कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै

Trulli
ADVERTISEMENT

बागलुङ- सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको अति जोखिम जिल्लामा विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

 

तर, बागलुङका विद्यालय बन्द भएका छैनन् । सोमबारसम्म पनि यहाँका विद्यालय नियमित सञ्चालनमा छन् । बागलुङ नगर शिक्षा अधिकारी डण्डपाणि शर्माले स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन भइरहेको बताए ।

 

अति जोखिमको जिल्लामा सूचीकृत भए पनि पालिकाले आफ्नो क्षेत्र सुरक्षित भएको ठहर गर्दै विद्यालय खुलाएको हो । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, कक्षाकोठामा थोरै विद्यार्थी राख्ने विषयमा सहमत भए पनि विद्यालय बन्द गर्ने सवालमा सहमति नभएको शर्माले बताए ।

 

‘लामो समय पढाइ बिग्रेको छ । दूरी कायम गरेर पढाइ चलाउनैपर्छ,’ शर्माले भने, ‘सरकारले निर्णय गरेकाले छलफलबाट टुंगो लगाउँछौँ ।’

 

संक्रमण दर बढिरहेकै बेला बागलुङ नगरपालिकासहितका सबै स्थानीय तह र जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितासमेत सम्पन्न भएका छन् ।

 

२९ र ३० चैतमा भएको जिल्लास्तरीय खेलमा मात्रै ५ सय ५० विद्यार्थी सहभागी थिए । सदरमुकाम क्षेत्रमा दिनदिनै कोरोना संक्रमित बढिरहेका छन् । तीमध्ये कतिपय सामुदायिक र संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीसमेत रहेको बताइएको छ । तर, विद्यालय बन्द गर्ने विषयमा अझै आनाकानी भइरहेको हो ।


झन्डै २ साताअघि शिक्षा मन्त्रालयले धुलो र प्रदूषणलाई कारण देखाएर ५ दिन विद्यालय बन्द गराउँदा पनि यहाँ नियमित कक्षा सञ्चालनमा थिए । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले विद्यालय बन्द गराउन पत्राचार गरे पनि पालिकाले विज्ञप्तिमार्फत विद्यालय बन्द नभएको जनाएका थिए ।

 

बागलुङ नगरपालिकाले विद्यालय बन्द नभएको भनेपछि घर पुगेका विद्यार्थी पनि फर्केका थिए । यहाँ सञ्चालित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा भने एकै पटक धेरै विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरू सबै छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थी हुन् ।

 

यहाँ स्टाफ नर्स, ल्याब टेक्निसियन र अहेबको पढाइ हुन्छ । होलीलगायत पर्वमा घर गएका विद्यार्थी फर्केर आउँदा उनीहरूमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

 

‘संक्रमणको दर भुसको आगोझैँ भएको छ तर सतर्कता कम छ,’ घिमिरेले भने, ‘विद्यालय बन्द गर्ने एउटा विषय हो, तर सर्तकता महत्त्वपूर्ण छ ।’ भीडभाड, सार्वजनिक यातायातमा सुरक्षा मापदण्ड पालना नगर्नेजस्ता विषयले संक्रमण बढ्ने उनले बताए ।


अहिलेसम्म भारतबाट आएका तथा अन्य सहरी क्षेत्रबाट आउजाउ गर्नेको तथ्यांक राख्ने कामसमेत भएको छैन । प्रशासनले एक साताअघि विज्ञप्ति निकालेर सतर्कताबारे जानकारी गराए पनि प्रशासन र प्रहरीबाट समेत कडाइ भएको छैन ।

 

धौलागिरि अस्पतालमा पनि दिनदिनै बिरामीको संख्या बढिरहेको छ । उनीहरूमध्ये अधिकांश रुघाखोकी लागेर आएकाहरू भएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

 

‘रुघा र ज्वरो देखिएपछि स्वाब परीक्षण गरेकामा झन्डै ५० प्रतिशत बढीमा कोरोना पोजेटिभ देखिएको छ,’ पोखरेलले भने, ‘अस्पतालमा पनि हामीले सुरक्षित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्थापन गरेका छौँ ।’ तर, नागरिकले मापदण्ड पालना गरेको नदेखेको उनले बताए । 


जिल्लामा अहिलेसम्म १ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल र होम आइसोलेसनमा गरी झन्डै १ सय जना सक्रिय संक्रमित छन् । 

 

विद्यालय बन्द नगर्दा एकै पटक संक्रमणको जोखिम हुने उपाध्यायले बताए । ‘आफ्नो निर्णय गर्ने अधिकार पालिकाको हो । प्रकोप नियन्त्रणका लागि गरिएको सुझाव पालना गर्दा सबैलाई राम्रो हुन्छ,’ उनले भने, ‘अधिकार र जोखिमको विषय फरक भएको बुझ्न जरुरी छ ।’ 

 

संविधानले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय पालिकालाई दिएको छ । उक्त अधिकारलाई टेकेर पछिल्लो समय मन्त्रालय तहबाट आउने निर्देशन र परिपत्र पालिकाले वास्ता गर्न छाडेका हुन् ।