close

विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)

विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)

ADVERTISEMENT

बागलुङ- लेखापालको नियुक्तिदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ ।

 

गत माघ अन्तिम साता लेखापाल नियुक्त भएकी टुककुमारी शर्माले विद्यालयबाट लिएको अनधिकृत सुविधाको विषय चर्चामा आएको हो ।

 

शर्माका श्रीमान् र विद्यालयका प्रधानाध्यापकबीचको संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विद्यालय चर्चामा आएको छ ।

 

लेखापाल शर्माका श्रीमान् धौलागिरि बहुमुखी क्याम्पसका उप-प्राध्यापक प्रकाश शर्मा र विद्यालयका प्रअ शान्तमणि ढकालबीच खुला विद्यालय कार्यक्रममार्फत लेखापाल शर्माले लिएको ३ हजार रुपैयाँको विषय चर्चामा छ । 

 

अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयले हरेक वर्ष १ लाख ५२ हजार रुपैयाँ पाउँछ । यो रकम परिचालन गर्न विद्यालयका प्रअलाई संयोजक र १ जना शिक्षकलाई कार्यक्रम सहायकको रूपमा जिम्मेवारी छ ।

 

कार्यक्रमअन्तर्गत संयोजकले हरेक महिना ७ सयका दरले ८ हजार ४ सय रुपैयाँ पाउँछन् । कार्यक्रम सहायकले सबै संयोजन गर्ने भएकाले मासिक ८ सयका दरले ९ हजार ६ सय र कार्यालय सहयोगीले वर्षमा ६ हजार रुपैयाँ पाउँछन् ।

 

१ महिना ४२ वटा कक्षा सञ्चालन गरेर पढाउने १ जना शिक्षकले एउटा कक्षाको १ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था छ । कार्यक्रम सहायकको रूपमा भीमप्रसाद गौतमलाई जिम्मेवारी दिइएको छ ।

 

सोही कार्यक्रमको रकमबाट लेखापालले समेत सुविधा खोजेपछि विद्यामन्दिरमा विवाद भएको हो । कार्यालय सञ्चालनका लागि कार्यक्रममार्फत आएको ६ हजार रुपैयाँ विद्यालयका २ लेखापालले बाँडेर लिएका छन् ।

 

‘कानुनी रूपमा लेखापाललाई रकम दिने व्यवस्था छैन । व्यवस्थै नभएको कुरा हामी दिन सक्दैनौँ,’ प्रअ ढकालले भने, ‘बाहिरको मान्छे भनेर मलाई हेपे, । मैले कानुनविपरीत काम गर्दिनँ ।’ 


लेखापाल शर्माले हरेक पटक चेक काट्ने समय आफूलाई कमिसन चाहिने भन्दै हस्ताक्षर गर्न नमान्ने गरेको ढकालले आरोप लगाए । ‘उहाँलाई केही काम गर्नै आउँदैन । सिक्नू भन्दा सकेको गर्छु, नभए सक्दिनँ । अर्को लेखापाल राखी काम गराउनुस् भन्नुहुन्छ,’ ढकालले भने, ‘के-को स्रोतले अर्को राख्ने ?’


कार्यक्रम सहायक भीमप्रसाद गौतम भने प्रअ र लेखापालको परिवारबीचको विवाद खुला विद्यालय कार्यक्रम नभएको बताउँछन् । ‘उहाँहरूका आन्तरिक विवाद थिए । बेकारमा यो कार्यक्रमलाई जोड्नुभयो,’ शर्माले भने, ‘कार्यालय सञ्चालनको रकम काम गरेका लेखापालले पाउँदा विवाद गर्नुपर्ने विषय थिएन ।’ 


शर्माको नियुक्तिताका विद्यालय आफैंले गरेको विज्ञापनविपरीत लेखापाल नियुक्त गरेको थियो । प्रचलित पद्धतिको सामान्य भाषासमेत नबुझी उमेर हद र विषय तोकेका कारण लेखापाल नियुक्तिपछि विद्यालय नै विवादमा तानिएको थियो ।

 

‘मलाई ठूलो थ्रेट आयो । नियुक्तिका बेला नेपाली पढेको मान्छेलाई नियुक्त गरियो,’ ढकाल भन्छन्, ‘अहिले म बोल्नै नहुने भनेर उहाँहरूले धम्क्याउनुहुन्छ ।’ 


विद्यालयले लेखापाल नियुक्तिका लागि लेखा विषय लिई कक्षा १२ उत्तीर्ण गरेका उम्मेदवारलाई आवेदन आह्वान गर्दै विज्ञापन गरेको थियो । तर, विद्यालयले अर्थशास्त्र मूल विषय भएकी उम्मेदवार छनोट भएपछि विवाद निम्तिएको थियो ।

 

शर्माको नियुक्ति गर्न नमानेका ढकाल र राजनीतिक पहुँचका आधारमा आफ्नो श्रीमतीलाई विद्यालयको लेखापाल बनाएका शर्माबीच माघदेखि नै विवाद थियो । 


धौलागिरि बहुमुखी क्याम्पसका उप-प्राध्यापक शर्मा विद्यामन्दिरका आंशिक शिक्षकसमेत हुन् । केही समय पहिलेसम्म महिनामा प्रत्येक कक्षाको १२ हजार पारिश्रमिक पाउने गरी ७ वटा कक्षा पढाएका शर्माको एक पिरियड खोसिएकाले आफूमाथि खनिएको आरोप ढकालले लगाए ।


ढकालसँग फोन संवादमा श्रीमतीले पाउनुपर्ने सुविधाको विषयमा सवालजवाफ गरेका प्रकाश शर्माले भने प्रधानाध्यापकले महिला कर्मचारीमाथि दुव्र्यवहार गर्ने, हेप्ने गरेकाले आफूले असामान्य अवस्थामा फोन संवाद गरेको बताए ।

 

‘उहाँले हेपेरै जानुपर्छ भन्ने मानसिकता राखेर लेखापाललाई अनेक तनाव दिनुभएको रहेछ,’ शर्माले टेलिफोन संवादमा भने, ‘लिनुदिनु केही होइन, प्रवृत्तिको विरोध गरेको हुँ । कुराकानी सकिएपछि सबै सकियो । मैले दुस्मनी पालेको छैन ।’

 

प्रशिक्षार्थी शिक्षक पठाउने र उनीहरूलाई उपलब्ध हुने आंशिक पारिश्रमिकको विषयमा समेत शर्मा र ढकालबीच लामो समयदेखि विवाद हुँदै आएको थियो ।