close

गर्भवती आमालाई कोसेली बोकेर गाउँ चहार्दै उपाध्यक्ष 

गर्भवती आमालाई कोसेली बोकेर गाउँ चहार्दै उपाध्यक्ष 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले गाउँटोलमा सुत्केरी भएका आमाहरूलाई कोसेली वितरण अभियानमा हिँडेकी छन् ।

 

जुम्लाको १ नगरपालिका र ७ गाउँपालिकामध्ये बुढा सक्रिय उपाध्यक्षका रूपमा परिचित छन् ।

 

उपाध्यक्ष बुढाले गर्भवती र सुत्केरी सुनौला हजार दिनभित्र आमा बच्चाको पोषणमा सुधार ल्याउन कोसेली बोकेर गाउँ-गाउँ पुग्न थालेकी हुन् । 

 

कोसेलीमा बच्चालाई न्यानो कपडा, तेल, साबुन, नङकटर र पोषणयुक्त आहारा चना राखिएको छ ।


तिला गाउँपालिका ९ वटा वडामा विभाजित छ । ९ वडाकै सुनौला हजार दिनभित्रका १ हजार १ सय ७० जना आमालाई १ साताभरि कोसेली वितरण गर्ने कार्यक्रम छ । 


गाउँपालिकाको वडा नम्बर ४ सापुल्ली गाउँकी गर्भवती अञ्जली शाहीले कोसेली पाएपछि खुसी लागेको बताइन् । उनले भनिन्, ‘गाउँपालिका उपाध्यक्षले नै गाउँ पुगेर यस्तो कोसेली उपलब्ध गराउँदा खुसी छौँ ।’ 

 

सोही गाउँकी कालिका सुनार सुत्केरी महिला हुन् । उनले भनिन्, ‘पहिलाका गर्भवती आमाले पोषिलो खानेकुरा नपाउँदा समस्या थियो । तर, अहिले स्थानीय सरकारले कोसेली उपलब्ध गराएपछि स्वस्थ र खुसी दुवै छौँ ।’ 

 

‘कोसेलीका कारण गर्भवती र सुत्केरी आमालाई निकै सहज भएको छ । सबैका घर हुनेखाने हुँदैनन् । विपन्न व्यक्ति तथा घरपरिवारमा यो कोसेलीले राहत पुगेको छ’, उपाध्यक्ष बुढाले भनिन् । 

 

उपाध्यक्ष बुढाका अनुसार गाउँपालिकाभरका १ हजार १ सय ७० जना गर्भवती र सुत्केरी आमालाई कोसेली प्रदान गर्ने कार्यक्रम छ । उनले भनिन्, ‘विशेषगरी गर्भवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउन कोसेली उपलब्ध गराउन थालेका हौँ ।’