close

नगरलाई हरियाली बनाउन जुट्यो त्रियुगा

नगरलाई हरियाली बनाउन जुट्यो त्रियुगा

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाले नयाँ वर्षबाट स्वच्छ, हरित सहर अभियान सुरु गरेको छ । नगरले त्रियुगा ‘क्लिन सिटी, ग्रिन सिटी’ निर्माण अभियान सुरु गरेको हो ।

 

‘स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ नारासहित उदयपुर सदरमुकाम गाईघाटलाई हरित सहरको रूपमा विकास गर्न १ वैशाखबाट अभियान सुरु भएको हो ।

 

‘क्लिन सिटी, ग्रिन सिटी’ अर्थात स्वच्छ सहर, हरित सहर निर्माण अभियानअन्तर्गत नगरपालिकाले अभियान थालेको हो । त्रियुगा नगरपालिका नगरप्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रूपमा बिरुवा रोपेर अभियान सुरु गरे ।

 

नयाँ वर्ष अवसरमा नयाँ कामको थालनी गर्ने योजनाका साथ अभियान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत गाईघाटको मुख्य चोकबाट वृक्षारोपण गरेर अभियान सुरु भएको छ ।

 

त्रियुगा क्षेत्रका सबै स्थानमा सफा सहर निर्माणको लागि अभियान सुरु गरिएको नगर प्रमुख चौधरीले बताए । अभियानअन्तर्गत गाईघाट बजार क्षेत्रमा हुने अव्यवस्थित सवारी पार्किङलाई सशुल्क र निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि अनिवार्य २ वटा बिरुवा रोप्नुपर्नेछ । 

 

अभियानमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा तथा नागरिकले संयुक्त रूपमा मुख्य चोक क्षेत्रमा बिरुवा रोपे । नगर क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र सुन्दरता बढाउन वृक्षारोपण गरिएको नगर उपप्रमुख चौधरीले बताइन् ।

 

वृक्षारोपण गरिएको बिरुवा नहुर्केसम्म त्यसको संरक्षण, गोडमेल नगरपालिकाले गर्नेछ । त्रियुगा बसपार्कदेखि मेन रोडसम्म ९ सय मिटर लम्बाइ सगरमाथा लोकमार्गको डिभाइडरमा धुपी र क्रिसमस जातका फूल २ सय ५० थान रोपिएको छ ।

 

दोस्रो चरणमा मदन भण्डारी लोकमार्गको डिभाइडरमा लगाउने तयारी छ । ग्रिन र क्लिन सिटीअन्तर्गत बिरुपा रोपिए पनि क्लिनका लागि बैंक लाइनमा सशुल्क पार्किङ र मेन चोकदेखि पीपल चोकसम्म निःशुल्क पार्किङ व्यवस्था गरिनेछ ।

 

त्यसैगरी सडकमा थुपारेको निर्माण सामग्री तत्काल हटाउन भनिएको छ । नहटाए नगरपालिकाले उठाउने जानकारी गराएको छ ।