close

१५ वर्षसम्म पनि बनेन जन्मदर्ता

१५ वर्षसम्म पनि बनेन जन्मदर्ता

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिकाले गाउँमै पुगेर सूचना दर्ता शिविर अभियान थालेको छ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइजस्ता घटना विवरण पारदर्शी बनाउन नगरपालिकाको वडा नम्बर १ देखि ११ वडासम्म समेटिने गरी अभियान सञ्चालन गरिन लागेको हो ।


गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई १ देखि १६ वैशाखसम्म व्यक्तिगत घटना दर्ता सञ्चालनको निर्देशन दिए पनि यहाँका स्थानीय तहहरूले अभियान सञ्चालन गर्न सकिरहेका छैनन् । 

 

खाँडाचक्र नगरपालिकाले विभागको निर्देशनको पालना गरेर यो अभियान सञ्चालन गर्न थालेको पञ्जीकरण शाखा प्रमुख कलमबहादुर शाहीले जानकारी दिए । 


उनका अनुसार गाउँमै शिविर सञ्चालन गर्दा वास्तविक विवरण आउनेछ । व्यक्तिगत घटना घटेको ३५ दिनभित्र दर्ता गराउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन भएको देखिँदैन । 

 

नगरपालिकाको वडा नम्बर २ पोरिपालीमा सञ्चालन भएको पहिलो दिनमै १७ जनाको जन्म दर्ता, ६ जनाको मृत्यु दर्ता, ५ जनाको विवाह दर्ता, १ जनाको बसाइँसराइ र गुनासो गरी ३० जनाको व्यक्तिगत घटना दर्ता भएको उनले बताए । शिविरमा १५ वर्षसम्म पनि जन्मदर्ता नगरेको भेटिएको उनको भनाइ छ । 

 

उनले भने, ‘व्यक्तिगत घटना दर्ता वास्तविक विवरण राख्न गाउँमै यस्तो शिविर सञ्चालन उपयुक्त हुने रहेछ । कार्यालयमा नागरिक आवश्यक परेको बेला मात्र पुग्छन् तर अघिपछि सेवा लिन आउँदैनन् ।’

 

एउटै टोलका ७८ जनाको जन्म दर्ता

 

नगरपालिकाको वडा नम्बर २ को मेग्रका एउटै टोलमा ७८ जनाको जन्म दर्ता गरेको पाइएको छ । ७८ जनामध्ये कोही १५ वर्षदेखि २० वर्षसम्म पुग्दा पनि जन्म दर्ता नगरेको भेटिएको शिविरमा भेटिएको प्रमुख शाहीले जानकारी दिए ।

 

उनीहरू रोजगारीको सिलसिलामा भारतलगायत क्षेत्रमा बस्दै आइरहेकाले नागरिकतादेखि जन्म दर्तासम्म नबनाएको भेटिएको छ । ‘मेग्रका एउटै टोलका ७८ जनाको जन्म दर्ता बनाइदिएका छौँ । शिविर सञ्चालन गरी गाउँमा नपसेको भए उनीहरू राज्यको सेवा-सुविधादेखि गणनासम्ममा पर्ने थिएनन् ।’

 

जन्म वा मृत्यु भएको ३५ दिनभित्र दर्ता गराउनुपर्ने व्यवस्था भए पनि जन्मेको १८ वर्षसम्म घटना दर्ता हुन सकिरहेको छैन । अब यो अभियानले नगरपालिकाका सबै वडामा छुटेका र सेवाबाट वञ्चित भएकालाई राहत हुनेछ ।

 

अधिकांशको विवाह दर्ता नहुनुले पनि श्रीमान्-श्रीमतीबीच द्वन्द्व उत्पन्न हुने गरेको घटना घटिरहेका छन् । विवाह भएर श्रीमान् बाहिर जाने र श्रीमती घरधन्दाको काममा व्यस्त हुने गरेका छन् । 

 

विवाह गर्र्ने तर कानुनी रूपमा विवाह दर्ता नगरिँदा धेरैजसो सम्बन्ध विच्छेदका घटना बढिरहेको देखिएको तथ्यांकमा उल्लेख छ ।