close

उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर

उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरमा कोभिड–१९ कहरलगायत विभिन्न कारणले आमा–बच्चाको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रँदै गएको छ । अघिल्लो वर्षको तुलनामा २०७६÷७७ मा आमा–बच्चाको स्वास्थ्य अवस्था खुम्चिएको सार्वजनिक तथ्यांकले देखाएको हो । 

 

स्वास्थ्य क्षेत्रमा क्रियाशील ‘वनहार्ट वल्र्डवाइड’ नेपाल नामक संस्थाको उदयपुर इकाइले सार्वजनिक गरेको तथ्यांकमा जिल्लाका महिला तथा नवजात शिशुको स्वास्थ्यस्थिति गिर्दो अवस्थामा पुगेको देखाएको छ ।

 

सहरदेखि गाउँघरसम्म प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने सरकारी प्रतिबद्धताअनुसार काम नभएकाले यस्तो स्थिति सिर्जना भएको हुन सक्ने अनुमान संस्थाको छ ।

 

वनहार्टकी उदयपुर इकाइ संयोजक कल्पना श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको मातृशिशु स्वास्थ्य अवस्था अघिल्लो वर्षको तुलनामा खस्कँदो छ । आमा–बच्चाको स्वास्थ्य सुधारका लागि सरकारले बर्सेनि बजेट र स्वास्थ्यकर्मी खटाउँदै आए पनि मृत्युदर घटाउन नसक्नु दुःखद भएको सरोकारवालाको बुझाइ छ । 

 

स्वस्थ बच्चा जन्माउन सुरुमा आमा नै स्वस्थ हुनुपर्ने र त्यसका लागि महिलाले गर्भवती भएदेखि सुत्केरी नभएसम्म नियमित स्वास्थ्य संस्थामा गएर गर्भजाँच गर्नुका साथै पोषिलो खानेकुरा खानुपर्नेमा त्यसो नहुँदा मृत्युदर नघटेको स्वास्थ्यकर्मी बताउँछन् ।

 

गर्भवती महिलाले अपनाउनुपर्ने स्वास्थ्य प्रावधान पालना नगर्दा यस्तो भएको श्रेष्ठको बुझाइ छ । बच्चा र आमा दुवैलाई स्वस्थ राख्न गर्भावस्थादेखि सुत्केरी भएसम्म गर्भवती महिलाले विभिन्न सचेतना अपनाउनुपर्नेमा त्यसो नहुँदा आफ्नो र शिशुको स्वास्थ्यमा सुधार आउन नसकेको बताइन्छ ।

 

वनहार्टले सरकारसँगको साझेदारीमा देशका विभिन्न जिल्लामा मातृशिशु लक्षित कार्यक्रम गर्दै आएको छ । श्रेष्ठका अनुसार उदयपुरमा गर्भ रहेको पहिलो महिना गर्भजाँच गर्ने महिलाले दोस्रो जाँच गर्नेबेलासम्म आधा संख्या घटेको अभिलेख छ । 

 

२०७६/७७ मा ८ हजार महिलाले पहिलो गर्भजाँच गराएको बताउने उनका अनुसार दोस्रो पटक गर्भजाँच गराउँदा ६ हजार २ सय ९ जनामा खुम्चिएको देखिएको छ । पहिलो पटक गर्भजाँच गराउनेमध्ये १ हजार ७ सय ९१ जनाले दोस्रो गर्भजाँच नगराएको तथ्यांकले देखाउँछ । 

 

त्यस्तै, ३ हजार २ सय ३० महिलाले अस्पताल र स्वास्थ्य केन्द्र गएर सुत्केरी गराएका छन् भने १ हजार ८ सय ६५ ले घरमै बच्चा जन्माएको अभिलेख उनीसँग छ ।

 

गत वर्ष जिल्ला अस्पतालमा १ हजार ३ सय ६५ महिला सुत्केरी हुँदा २ सय ३६ जना अर्थात् १३.१ प्रतिशतको शल्यक्रिया (अप्रेसन) विधिबाट बच्चा निकालिएको छ । बाँकी सुत्केरी सामान्य (नर्मल डेलिभरी) भएको उदयपुर अस्पताल प्रसूति शाखा प्रमुख छवित्रा राईले जानकारी दिइन् ।

 

उनका अनुसार अशिक्षा, गरिबी र स्वास्थ्य चेतना अभावलगायत विभिन्न कारण कतिपय गर्भवतीले पनि गर्भजाँच नगराउने र सुत्केरी हुन अस्पताल नजाने अवस्था छ । घरमै बच्चा पाउने गरेका कारण उनीहरूको स्वास्थ्य अवस्था बिग्रने र मृत्युसम्मको अप्रिय घटना हुने गरेको उनी बताउँछिन् । सोही कारण अकालमा मातृशिशुको ज्यान जाने गरेको संस्थाको बुझाइ छ । 

 

वनहार्टले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालमा सन् १९९६ देखि २०१६ सम्म बर्सेनि सरदर ५ सय ३९ आमा बच्चाको स्वास्थ्य असावधानीले मृत्यु हुने गरेको छ । त्यसलाई घटाएर २००६ सम्म २ सय ३९ जनामा झार्ने योजनासहित वनहार्टले सरकारसँगको साझेदारीमा उदयपुरमा गत वर्षदेखि स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

पछिल्लो वर्ष मातृशिशुको मृत्युदर २ सय ८१ मा झार्न सफल भएकामा २०२० मा १ सय २५ हुँदै २०२२ मा ११६ मा झार्ने लक्ष्य लिएको वनहार्टकी कर्मचारी भगवती श्रेष्ठले बताइन् ।

 

उनका अनुसार सन् २०२५ मा ९९ र २०३० सम्म आमाबच्चाको मृत्युदर ७० जनामा झार्ने लक्ष्यका साथ अहिले विभिन्न स्वास्थ्य केन्द्रित गतिविधि भइरहेका छन् । श्रेष्ठका अनुसार २००६ देखि २०३० सम्म २५ वर्षे लक्ष्य निर्धारण गरेर सञ्चालित अभियानअन्तर्गत वनहार्ट उदयपुरमा सन् २०२० देखि क्रियाशील छ ।

 

तर, सुरु चरणमै गत वर्ष कोभिड महामारी आइलागेपछि लक्ष्यअनुसार गतिविधि गर्न नसकिएको उनले बताइन् । कोभिडका कारण शतप्रतिशत महिलालाई गर्भजाँच गराउने योजना पूरा गर्न नसक्दा गत वर्ष राष्ट्रिय स्तरमा ८४ प्रतिशत र उदयपुरमा ७६ प्रतिशतले गर्भजाँच गराएको उनको भनाइ छ । 

 

मातृशिशु मृत्युदर घट्न नसक्नुका मुख्य ५ कारण रहेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् । उच्च तथा न्यून रक्तचाप, अत्यधिक रक्तश्राव, गर्भपतन, संक्रमण र सर्ने तथा नसर्ने रोगजस्ता समस्या आमाबच्चाको मृत्युदर बढाउने मुख्य कारण हुन् । 

 

सुत्केरी महिलाको मृत्यु अस्पतालमा ७३ प्रतिशत र समुदायमा २३ प्रतिशतले हुने गरेको छ । अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई आफन्तले उपचार भइनसक्दै घर लग्ने तथा दक्ष स्वास्थ्यकर्मी र आवश्यक औषधी नहुँदा उनीहरूको मृत्यु हुने गरेको पाइएको छ । 

 

वनहार्टले उदयपुरका ८ वटै स्थानीय तह, स्वास्थ्य शाखा प्रमुखलगायत सरोकारवाला कर्मचारीलाई परिचालन गरेर मृत्युदर घटाउन सुझाएको छ । मातृशिशुको स्वास्थ्यस्थिति सबल बनाउन स्थानीय तह, प्रदेश र संघ ३ तहका सरकार लाग्नुपर्ने, पर्याप्त बजेट व्यवस्था गर्न पनि वनहार्टको आग्रह छ । 

 

उदयपुर जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले दक्ष जनशक्ति र आवश्यक भौतिक यन्त्र–उपकरणको व्यवस्थासँगै पर्याप्त जनचेतना जगाउन सके आमाबच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए । 

उदयपुर अस्पतालमा प्रसूति सेवा सञ्चालन भइरहे पनि दक्ष जनशक्ति अभावमा १ जना तालिम प्राप्त डाक्टरबाट कामचलाउ सेवा चलाइँदै आएको डा. मण्डलले बताए ।

 

सेवा प्रभावकारी बनाउन गाइनोलोजिस्ट डाक्टरको दरबन्दी अस्पतालमा भए पनि पदपूर्ति हुन सकेको छैन । जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुवेदी स्वास्थ्यजस्तो संवेदनशील विषयमा संघदेखि प्रदेश र स्थानीय सरकार ३ वटै तहले महत्त्व दिनुपर्ने बताउँछन् ।

 

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले सरकारले अस्पतालमा आवश्यक दक्ष जनशक्तिको प्रभावकारी परिचालन गर्न नसक्दा अझै आमाबच्चाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए ।