close

पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै

पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानीमा २६५ मिटर लामो झोलुंगे पुल निर्माण धमाधम भइरहेको छ । 

 

पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत पाखापानीको कमनाथ र कोटगाउँ जोड्ने घोप्टेखोलामाथि झोलुंगे पुल निर्माण गर्न लागेको हो ।

 

यो पुल निर्माणका लागि हिमशिखर÷जयलक्ष्मी जेभीले ९ फागुन २०७६ मा २ करोड ६२ लाख ३ हजार ४४३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

 

८ साउन २०७८ मा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले बताए । 

 

दुवैतर्फ जिप तयार पारेर लट्ठा तान्ने काम सकिएको छ । स्टिल डेग र जाली निर्माण स्थलमा ढुवानी भइसकेको छ । लट्ठा तन्काउने काम सकेर स्टिल डेग राख्न सुरु गर्ने तयारी भएको निर्माण कम्पनीले जनाएको छ । 

 

यो पुल निर्माणपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मूलपानीका ५ सय बढी घरधुरी लाभान्वित हुने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । कोटगाउँ र कमनाथको करिब १ घन्टाको बाटो २० मिनेटमा छोटिने उनले जानकारी दिए । 

 

पुल बनेपछि भीर, जंगल र खोल्साको घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्य चौकी र अमर माविमा आउजाउ गर्न स्थानीयलाई सहज हुनेछ । 

 

यो पुल पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । 

 

यो म्याग्दीको दोस्रो लामो पुल हुनेछ । यसअघि रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो ।