close

बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध 

बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– जीर्ण राजमार्ग स्तरोन्नतिको माग गर्दै सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्थानीयले बन्द गराएका छन् । सवारी आउजाउसमेत ठप्प पारेर अनिश्चितकालीन बन्दमा उत्रिएका स्थानीयले ३ बुँदे माग राखेका छन् । 


सडक अवरुद्ध भएसँगै माथिल्लो सगरमाथाअन्तर्गत ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी सेवा ठप्प भएको छ भने सवारी साधन सिन्धुलीको खुर्कोट–बर्दिबास हुँदै घुमाएर सञ्चालन गरिएको छ ।

 

बन्दका कारण ढुवानीमा अवरोध पुगेको छ भने खुर्कोट हुँदै घुमेर यात्रा गर्दा यात्रुलाई दोब्बर बढी भाडा तिर्नुपर्ने बाध्यता छ । 

 

पहाडी जिल्लाको प्रवेश द्वारका रूपमा रहेको उक्त सडक जीर्ण हुँदा दुर्घटना बढ्ने, बारम्बार अवरुद्ध हुने हुँदा ढुवानी लागत बढेर उपभोक्ता मर्कामा पर्दै आएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए ।

 

संघले पटक–पटक प्रदेश सरकारका मन्त्री तथा सांसदहरूलाई यसबारे ध्यानाकर्षण गराए पनि चासो नदिएको मास्केको गुनासो छ । कटारी–घुर्मी सडक खण्ड उदयपुरमा परे पनि त्यसको असर भने माथिल्लो सगरमाथाका ३ जिल्लालाई पर्दै आएको छ । 

 

सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने लोकमार्गको स्तरोन्नति माग गर्दै आएका स्थानीय उपभोक्ता संघर्ष समितिले सरकार र डिभिजन सडक कार्यालय लहानलाई ज्ञापनपत्र बुझाउँदासमेत बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन् । 

 

सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगाको सीमा घुर्मीसम्मको सडक खण्ड तत्काल स्तरोन्नति गर्न उनीहरूको माग छ । उक्त खण्डको सडक जीर्ण भएकाले बारम्बार दुर्घटना हुँदा पनि दिगो मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयले वर्षौंदेखि समस्या भोग्नुपरेको संर्घष समितिका संयोजक दीपक क्षेत्रीले बताए । 


सडक स्तरोन्नतिको बजेट सुनिश्चितता, उक्त सडक स्तरोन्नतिका लागि छुट्टै आयोजना कार्यालय कटारीमा स्थापना र तत्काल अप्ठेरा ठाउँको मर्मत हुनुपर्ने माग छ । सबै माग पूरा नभएसम्म आन्दोलन नरोकिने क्षेत्रीले जानकारी दिए । 


कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षसमेत रहेका क्षेत्रीका अनुसार बारम्बार सडक स्तरोन्नतिको माग गर्दै आए पनि सम्बन्धित निकायले नसुनेकाले आन्दोलन गरिएको हो । संघर्ष समितिले आर्थिक वर्ष २०७८/७९ को बजेटमा लोकमार्ग सुरक्षित आउजाउ गर्न उठाउँदै आएको दुई लाईन सडक बनाउनुपर्ने मागलाई कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न, त्यसको लागत स्टिमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

 

कटारी नगरपालिकाका वडा नम्बर ८, ९, १०, ११, १३ र १४ ले छोएको उक्त खण्डको सडक स्तरोन्नतिको माग गर्दै सोही वडाका स्थानीयले अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् । दिनरात हजारको संख्यामा बढी भार क्षमताका टिपर चल्ने भएकाले बर्सेनि मर्मत गरे पनि बिग्रेर जस्ताको तस्तै हुने गरेको छ । 

 

मिर्चैयादेखि कटारी घुर्मी हुँदै ओखलढुंगा, सोलुसम्म जोड्ने उक्त सडक नेपाली सेनाले २०५८ मा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित निर्माण गरेको थियो । 

 

पुरानो प्रविधि, मेसिन उपकरण अभावले कोदालो र झम्पलको भरमा खनिएको उक्त सडक पहाडी भेग भएकाले घुम्ती र साँघुरो पनि छ । 

 

उक्त सडक स्तरोन्नतिका लागि सुनसरी, सिराहा, उदयपुर, ओखलढुंगा र सोलुका सांसदहरूले संघीय सरकारलाई गत वर्ष नै ४ लेनको पक्की सडक बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 

जनप्रतिनिधिको माग संघीय सरकारले नसुनेपछि स्थानीय आन्दोलनमा उत्रिएको ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार बताउँछन् । सरकारले स्थानीय नागरिकको माग सुन्नुपर्ने उनको माग छ ।