close

नमोबुद्धका युवाले चलाए नमुना नगरसभा

नमोबुद्धका युवाले चलाए नमुना नगरसभा

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाको सभाहलमा मंगलबार फरक दृश्य देखियो । सभाहलमा नगरसभा भइरहँदा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा वडा अध्यक्षहरू दर्शक दीर्घामा थिए भने नगर प्रमुखको रूपमा मञ्चमा बसेका थिए, १७ वर्षीय सुजन सुन्दास ।

 

जसरी नमोबुद्ध नगरपालिकाको नियमित रूपमा बर्खे र हिउँदे नगरसभा सञ्चालन हुने गरेको छ, त्यही शैलीमा नगरसभा सञ्चालन भइरहेको थियो ।

 

नमोबुद्ध नगरपालिका नगर युवा परिषद्को आयोजनामा भएको नमुना युवा नगरसभाको अभ्यास भइरहँदा युवाहरूले आफ्ना सवाल मात्रै उठाएनन्, नगरमा रहेका अन्य समस्यामा समेत ध्यानाकर्षण गराए । 

 

उनीहरूले समस्याको समाधानका उपायसमेत नगरसभामार्फत प्रस्तुत गरे । नमुना युवा नगरसभामा नगरप्रमुख बनेका सुन्दास कार्यक्रममा सहभागी युवाबाट निर्वाचित भएका थिए । 

 

नगरका ११ वटै वडाका १६ देखि २४ वर्ष उमेर समूहका ३० जना युवाको सहभागितामा नगरप्रमुख र उपप्रमुख चयन गरिएको थियो । उपप्रमुखमा संगीता दाहाल निर्विरोध निर्वाचित भइन् भने प्रमुखका लागि ३ जनाबीच प्रतिस्पर्धा भएकामा सुन्दास निर्वाचित भए ।

 

नमुना नगरसभामा युवाहरूले खानेपानीको समस्या, बेरोजगारी समस्या, प्राविधिक शिक्षाको व्यवस्थापनलगायत विषयमा आवाज उठाए । कार्यक्रममा नगरसभा सदस्यको रूपमा सहभागी पूजा पाण्डेले नगरका सबै विद्यालयमा किशोरीका लागि स्यानिटरी प्याड व्यवस्थापन गर्दै महिनावारी भएको समय विद्यालय जान सक्ने वातावरण बनाउन, प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने माग राखिन् ।

 

यस्तै, अर्का सहभागी सुजन थापाले युवाका लागि नगरमै गुणस्तरीय शिक्षाको व्यवस्थापन गरेर अध्ययनका लागि बाहिर जाने समस्या समाधान गर्नुपर्ने बताए । सभामा सहभागी अन्य युवाहरूले नगरभित्र देखिएको आगलागी समस्या, रोजगारी नपाएको, सडकमा यातायात सञ्चालन हुन नसकेको, खानेपानी अभावलगायत विषयमा सभाको ध्यानाकर्षण गराए ।

 

उनीहरूले कृषि र पर्यटकीय नगर नमोबुद्धमा पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउन पनि माग गरे । सभामा उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुखको रूपमा मञ्चमा बसेका सुन्दासले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने, प्राविधिक शिक्षामा जोड दिइने बताए । उनले हरेक वडामा खेल मैदानको व्यवस्थापन गरिएको, सडक कालोपत्रे गर्ने काम भइरहेको, पर्यटकीय र धार्मिक क्षेत्रको विकासको योजना बनाइएको जानकारी दिए ।

 

नमुना नगरसभाले आगलागी समस्या समाधानबारे सार्वजनिक महत्त्वको प्रस्ताव पारित गर्नुका साथै विनियोजन विधेयकसमेत पारित गरेको थियो । 

 

कार्यक्रममा सहभागी युवालाई ३ दिनसम्म प्रशिक्षण दिएपछि मंगलबार नमुना युवा नगरसभा सञ्चालन गरिएको हो । युवाहरूको सवाल पहिचान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

 

नमुना नगरसभा सम्पन्न भएसँगै आयोजित समापन अवसरमा नमोबुद्धका नगरप्रमुख तिमल्सिनाले नमुना नगरसभामार्फत उठेका विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गराइने प्रतिबद्धता जनाए ।

 

युवाले उठाएका नगरभित्रका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नगरमा सुशासन कायम गर्न, नगरको समग्र विकास गर्न युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । नमोबुद्धलाई बालमैत्री र युवामैत्री नगर बनाउन थप योजना सञ्चालन गरिने उनको धारणा छ ।

 

यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले युवाहरूले उठाएको समस्या समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । नमुना युवा नगरसभा नगरपालिकाको नियमित नगरसभाजत्तिकै प्रभावकारी रूपमा सञ्चालन भएकामा पौडेलले युवाहरूको प्रशंसा गरे ।

 

किताबी ज्ञान र कागजी कुरा मात्रै होइन, व्यवहारमै गरिने क्रियाकलापले धेरै कुरा सिकिने बताउँदै उनले यो नगरसभाले युवालाई नेतृत्व क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।

 

कार्यक्रममा नमोबुद्ध वडा नम्बर ११ का वडाध्यक्ष कृष्णवहादुर लामाले नगरपालिकाले युवालाई प्राथमिकतामा राखेर आगामी दिनमा काम अगाडि बढाउने बताए । जिल्ला युवा समितिका अध्यक्ष प्रकाश रोकाले युवाहरूका लागि नगरपालिकाले गरिरहेको कार्य प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।

 

युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारहरूले जोड दिनुपर्ने बताउँदै उनले विदेश पलायन हुनबाट रोक्न सके मुलुकको समृद्धिमा युवाहरूबाटै पहल हुन सक्ने आवश्यकता औँल्याए । युवा स्वरोजगार कोषमार्फत केही हदसम्म भए रोजगारीमा वृद्धि भएको उनको भनाइ छ । 

 

नगरपालिकाको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, युवा अभियन्ता सञ्जीव न्यौपानेलगायतले नमुना युवा नगरसभाको उद्देश्यबारे मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी युवामध्येबाट पूजा पाण्डे र दिनेश भुजेलले आफूहरूको समस्यालाई नगरपालिकासमक्ष राख्न यो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको बताए । कार्यक्रमको सञ्चालन नगर युवा परिषद्का कार्यकारी सदस्य लक्ष्मीराज चिमौरियाले गरेका थिए ।