close

झापाका तीन स्थानीय तहका विद्यालय बन्द, केन्द्रको निर्णय पालना भएन

झापाका तीन स्थानीय तहका विद्यालय बन्द, केन्द्रको निर्णय पालना भएन

Trulli
ADVERTISEMENT

झापा– संघीय मन्त्रिपरिषद्को निर्णयपछि झापाका ३ स्थानीय तहका विद्यालय वैशाखभर बन्द गरिएको छ । बिर्तामोड, मेचीनगर र दमक नगरपालिकाका सबै विद्यालय बन्द गर्ने स्थानीय सरकारले निर्णय गरेको हो । 

 

मेचीनगर नगरपालिकामा वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन दिइएको छ । मंगलबार नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।

 

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मंगलबार सूचना जारी गरी पठनपाठन बन्द गर्न निर्देश गरेका हुन् ।

 

शिक्षकका पेसागत संस्था, निजी विद्यालयका प्रतिनिधिसँग भएको छलफलबाट नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा २०७८ वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाई वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गरिने सूचनामा उल्लेख छ ।

 

यस्तै, २०७७ का वार्षिक परीक्षा गर्ने व्यवस्थाका लागि पाठ्यवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० बाहेकका परीक्षाका लगि तयारी अवस्थामा रहन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

 

बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालय १९ वैशाखसम्मका लागि बन्द गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय प्याब्सन, एन प्याब्सन, सामुदायिक विद्यालयका प्रअ तथा पेसागत संगठनका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको हो । 

 

सरोकारवालाको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । बैठकले २० वैशाखदेखि पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्वनिर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । 


केन्द्रको निर्णयविपरीत मंगलबार दमकका विद्यालय खुलेपछि स्थानीय सरकारले १४ वैशाखसम्म विद्यालय नखोल्न भनेको छ । नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर सूचनामा यस्तो निर्देशन दिइएको हो ।

 

७ देखि १४ वैशाखसम्म विद्यार्थीलाई परीक्षा पूर्वतयारीका लागि बिदा दिन र स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी पालना गरेर मात्र १५ वैशाखबाट एउटा कक्षामा २५ जना मात्र विद्यार्थी राखेर आ–आफ्ना विद्यालयमा कक्षा ८ र १० बाहेकका वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ ।