close

कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन 

कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन 

Trulli
ADVERTISEMENT

मुगु– हिमाली जिल्ला मुगुका नागरिक साता दिनदेखि सञ्चारविहीन भएका छन् । कालीकोट र दैलेख सीमामा अवस्थिते महावु लेकमा रहेको रेडियो लिंक रिपिटर टावरका उपकरणमा चट्याङ पर्दा कर्णालीबासी सञ्चारविहीन भएका हुन् । 

 

इन्टरनेट सेवा नहुँदा कर्णालीका मुगु, हुम्ला, डोल्पामा प्रशासनिक सेवा प्रवाहमा समस्या आएको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ ।

 

उक्त स्थानमा रहेको टावर मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ गएकाले मर्मत जारी रहे ढिलामा बुधबारसम्म इन्टरनेट सेवा सञ्चालनमा आउने नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख विशाल देवकोटाले बताए ।

 

पछिल्लो समय कर्णालीका जिल्लामा पानी परिरहेकाले इन्टरनेट सेवा अवरुद्ध हुने देखिएको छ । पानी परेपछि टावर मर्मतमा खटिएका प्राविधिकलाई कठिन भइरहेको कार्यालयले बताएको छ ।

 

देवकोटाले भने, ‘कर्णालीका मुगुसहित अन्य जिल्लामा टेलिफोन बिग्रने अहिलेको मात्र समस्या होइन । हिउँदमा हिउँ पर्ने र बर्खामा असिना पानी एवं चट्याङ पर्ने समस्याका कारण कर्णालीबासीले ईन्टरनेट र टेलिफोन समस्या पटक–पटक झेल्दै आएका छन् ।’ 

 

एडिएसल इन्टरनेटले काम नगर्दा मुगुमा सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थामा आर्थिक कारोबार गर्न र अन्य काममा पनि समस्या आउने गरेको स्थानीय तिलकबहादुर मल्लले बताए । 

 

इन्टरनेट सेवा बन्द हुँदा मुगुका सूचना सन्देश पनि राष्ट्रिय स्तरसम्म सम्प्रेषण र प्रकाशन गर्न नपाएको सञ्चारकर्मी दानबहादुर बुढाको भनाइ छ । 

 

सरकारबाट मान्यता प्राप्त निजी इन्टरनेट कम्पनी सुबिसु, वल्र्ड लिंकका इन्टरनेटले गतिलोसँग काम नगर्दा पनि स्थानीय सेवाबाट वञ्चित भएका हुन् ।