close

उपत्यकामै खोला तर्न बाँसको फड्के !

उपत्यकामै खोला तर्न बाँसको फड्के !

Trulli
ADVERTISEMENT

भक्तपुर- लहरै मिलाएर बिछ्याइएका बाँस । मुनि कलकल आवाज निकाल्दै बग्दै मनोहराको पानी । कोही फाँटभरि तरकारी उमार्न व्यस्त त कोही तयार भएका तरकारीलाई सफा गरेका देखिन्छन् । त्यही तरकारीलाई हतारहतार बाँसको फड्कोमार्फत ओसारपसार गरिरहेका हुन्छन् । 

 

सँगै विकासको लहर सबै स्थानीय तहमा आइसकेको छ । तर, मनोहरा खोला किनाराले भने मुहार फेर्न पाएको छैन । बाँसका फड्कोको सहायताले स्थानीय खोला वारपार गर्न बाध्य छन् । खोलामा मोटर गुड्ने बाटोसमेत नभएकाले स्थानीयले दुवाकोटमा उत्पादित तरकारीलाई खाली खुट्टा टेकेरै खोलापारि लैजानुपर्छ ।

 

स्थानीय कृषक मात्रै होइन, बालबालिकासमेत सोही बाँसको फड्कोबाट विद्यालय आउजाउ गर्छन् । बालबालिका बढी जोखिममा भएकाले स्थानीय आफंैले रकम जोहो गरेर बाँस किनेर पुल राखेका हुन् । त्यो पनि वर्षैपिच्छे फेर्नुपर्ने स्थानीयको गुनासो छ । 


स्थानीय महेन्द्र माझीका अनुसार हिउँदमा तरकारी बेच्न चिसो पानीमा टेकेर जानुपर्छ । चिसो पानीबाट जोगिनकै लागि बाँसको पुल राखेको उनले सुनाए । 

 

‘हिउँदमा राखेको पुल असारमा आएको बाढीसँगै बगेर जान्छ । पानी सुक्न थालेपछि पुनः बाँसको पुल हाल्छौँ,’ उनले भने, ‘खोलाबाट वारपार गर्न हामीभन्दा साना नानी जोखिममा छन् । त्यसैले पुल हाल्न बाध्य छौँ ।’ 

 

स्थानीयका अनुसार पक्की पुल हेर्न २० देखि ३० मिटर पैदल गरी मूलपानी चौर या बोडे पुग्नुपर्छ । त्योभन्दा अरू विकल्प स्थानीयसँग छैन । 

 

मलामी जाने बाटै छैन: स्थानीय

 

स्थानीयका अनुसार बाँसको पुल राखिएको ठाउँबाट पहिलेदेखि बाटो बन्दै आएको थियो । गाउँमा कसैको निधन भए सोही खोला तारेर शव जलाउन पशुपति लैजानुपर्छ । 

 

मलामीका लागि बाँसको फड्को बनाइएको हुन्थ्यो । सोही फड्को प्रयोग गरी खोला तरेर मलामी जाने गरिएको थियो । तर, पछिल्लो समय पक्की पुल नभएकाले शववाहन बोलाएर शव जलाउन लैजानुपर्ने बाध्यता स्थानीयको छ । 


‘हिउँदमा खोला सानो बग्छ । बाँसको फड्को प्रयोग गरी मलामी जाने गरिन्छ । वर्षामा पानीको वहाब ठूलो हुन्छ,’ एक स्थानीयले भने, ‘पानीको बहाव ठूलो भएको समय कि खोलामै लाश जलाउने ठाउँ बनाउँछाँै, नभए गाडीमा हालेर पशुपति लैजान्छौँ ।’ 

 

पुल निर्माण गर्न स्थानीयले २०५८ मै सरोकारवाला निकायलाई पत्र बुझाए पनि कहीँबाट सुनुवाइ भएन । बल्ल २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन उम्मेदवार कृष्ण भडेलले भोट पाए पुल बनाइदिने आश्वासन स्थानीयलाई दिएका थिए । चुनाव जिते तर त्यसपछि उनी कहिल्यै फर्केर नआएको गुनासो स्थानीयको छ । 

 

पानीमाथिबाटै गुड्छन् बाइक

 

वरपर नजिकै पक्की पुल नभएकाले ज्यानलाई जोखिममै राखेर सवारी साधनसमेत पानीमाथि गुड्ने गरेका छन् । फराकिलो भएर पानी बगेका स्थानलाई छनोट गरी बाइक गुडाउने गर्ने गरेको स्थानीयको भनाइ छ ।

 

पुल नभएकाले गर्दा स्थानीय कृषक भारी बोकेर खाली खुटा पानीलाई टेकेर हिँड्ने गर्छन् । ‘सीधै गाडीमा लैजान पुल छैन । भारी बोकेर पुल खोज्न जाँदा समय लाग्छ,’ एक मजदुर भन्छन्, ‘बरु खाली खुट्टा पानीमा टेकेर हिँड्यो, एकैछिनमा पुगिन्छ । सुरु-सुरुमा डर लाग्थ्यो । अब बानी परिसक्यो ।’

 

पुलका लागि पहल गरिरहेको छु: सांसद भडेल

 

१४ मंसिर २०७६ मा भएको उपनिर्वाचनमा विजयी कांग्रेसका कृष्णलाल भडेल सोही बाँसको फड्कोलाई मुख्य एजेन्डा बनाएर चुनावमा होमिएका थिए । जनताको घरघरमा पुग्दै भन्थे, ‘मलाई भोट दिनू, मनोहरा खोलाको मूलपानी र दुवाकोट जोड्ने पुल बनाउँछु ।’


 
सोही एजेन्डाले नै उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालभन्दा २,२४३ मत बढी ल्याएर १३,४४९ मतले विजयी भए । निर्वाचनमा जनताको मत पाए तर मन जित्न भने अझै सकेनन् ।

 

निर्वाचित भएको डेढ वर्षसम्म पनि पुलका लागि पहल गर्दै आएको उनको दाबी छ । चुनावमा आफ्नो पहिलो एजेन्डा भए पनि विकास निर्माणमा ढिलाइ हुने पुरानै प्रवृत्तिका कारण पुल कहिले बन्ने भन्ने टुंगो नभएको उनले सुनाए । 

 

‘मूलपानी र दुवाकोट जोड्ने पक्की पुल छ । स्थानीयले सोही पुलको प्रयोग गरी आउजाउ गर्दा पनि हुन्छ,’ उनले भने, ‘विकास भन्नेबित्तिकै हुँदैन । त्यसका लागि समय लाग्छ । मैले आवश्यक पहल गरिरहेको छु । अबको १–२ वर्षमा त्यहाँ पुल बन्छ ।’

 

ट्रस्ट पुल बन्दै छ: नगरप्रमुख मिश्र


चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बाँसको फड्को प्रयोग गरी स्थानीय आउजाउ गरिरहेको विषय आफूलाई थाहा भएको बताए । पक्की पुल निर्माणका लागि ६२ करोड रुपैयाँको डिपीआरसहित सडक डिभिजन कार्यालयलाई ३ वर्ष अगाडि बजेट मागे नआएको दाबी उनले गरे । 

 

‘सडक डिभिजन कार्यालयबाट बजेट नआउने भएपछि स्थानीय र मोटरसाइकल आउजाउ गर्न मिल्ने गरी ट्रस्ट पुल बनाउन लागेका थियौँ । त्यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि र हामी बसेर शिलान्याससमेत गरेका थियौँ,’ उनले भने, ‘तर, पारिका जग्गावालाले पुल बनाउन रोके । त्यसभन्दा केही माथि कुइँकेल गाउँमा ट्रस्ट पुल बनाउन लागेका छौँ ।’ 

 

नगरप्रमुख मिश्रका अनुसार पुलका लागि आवश्यक सामग्रीसमेत झारिएको छ । सोही निर्माण सामग्रीलाई केही माथि लगेर पुल बनाइनेछ । अबको केही दिनमा पुल निर्माण सुरु गर्ने दाबी उनको छ ।