close

म्याद गुज्रियो तर नदीको पानी गाउँ उक्लिएन

म्याद गुज्रियो तर नदीको पानी गाउँ उक्लिएन

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी निकाल्न सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काममा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको छ ।

 

निर्माण कम्पनीको बदमासीका कारण म्याद नाघेको कम्तीमा ९ देखि १५ महिना बित्दासमेत बृहत् पम्पिङ खानेपानी आयोजनाको काम अपूरै रहेको हो ।

 

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ को खानेपानीको विकराल समस्या हल गर्न ९६ करोड रुपैयाँ बढीको बृह्त पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । 

 

दूधकोसीबाट पानी लिफ्ट गरेर वडा नम्बर का कम्तीमा ३ हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।

 

नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय आयोजनाको काममा ढिलासुस्ती हुँदा निराश छन् । दूधकोसीको पानीलाई वडा नम्बर २ डिकुवाको भुम्जुडाँडा र वडा नम्बर ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्काको म्याद गुज्रेको १५ महिना बित्दा करिब ८० प्रतिशत मात्र काम सकिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हिराकाजी महर्जनले जानकारी दिए ।

 

भ्याटबाहेक ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँमा १७ पुस २०७६ सम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनी दिवा-महादेव खिम्तीले २१ असार २०७४ मा मेन लाइनको कामको ठेक्का सम्झौता गरेको थियो । १७ पुस २०७६ मा म्याद गुज्रेको मेन लाइनको कामको म्याद कोभिड-१९ का कारण देखाउँदै आगामी असार मसान्तसम्म थपिएको छ । 

 

दूधकोसी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्न दिवा-महादेव खिम्तीले नदी किनारमा सम्पवेल, महादेवबेँसीदेखि काभ्रेडाँडा र लुलिमादेखि भुम्जुडाँडा बीच ६/६ वटा लिफ्ट ट्यांकी निर्माण, ६/६ किलोमिटर पाइप लाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडानलगायत काम गर्नुपर्ने सम्झौता छ ।

 

यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा ३/३ लाख लिटरका ४ वटा रिजर्भ ट्यांकी निर्माण गर्नुपर्नेछ । दिवा-महादेव खिम्तीले जिम्मा लिएको मुख्य कामको प्रगति नहुँदा अन्य ठेकेदारलाई पनि ढिलासुस्तीमा वहाना गर्न सहज भएको स्थानीय बताउँछन् । 

 

दिवा-महादेव खिम्तीले सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै नगरपालिकाको टोलीले २०७६ भदौ चौथो साता तत्कालीन खानेपानीमन्त्री वीना मगरको ध्यानाकर्षण गराएको थियो । उपभोक्ता समितिले असहयोग गरेकाले आयोजनाको काममा ढिलासुस्ती भएको दिवा-महादेव खिम्तीका डाइरेक्टर रवि सिंले बताए ।

 

‘उपभोक्ता समितिकै कारण ढिलासुस्ती भएको हो । बाटोको विषयमा विवाद हुँदा ढिलाइ भइरहेको छ । भवन बनाउने ठाउँ पनि उपलब्ध गराइएको छैन,’ सिंले भने, ‘काम तदारुकताका साथ भइरहेको छ । तीन साताभित्र लिफ्टिङको सामान आउँदै छ । समय तालिकाअनुसार काम भइरहेको छ ।’ 

 

२ वटा वितरण लाइन पनि सुस्त 

 

हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको वितरण लाइनतर्फको काम गरिरहेको लामा कन्स्ट्रक्सन प्रालि र रमन- सगरमाथा-घिमिरे जेभीको कामको प्रगति पनि सन्तोषजनक छैन ।

 

भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई वडा-वडामा वितरण गर्ने कामको म्याद गुज्रेको कम्तीमा ९ महिना बितिसकेको छ । काभ्रेडाँडामा निकालिएको पानीलाई ३० असार २०७७ सम्म महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी ३१ असार २०७५ मा सम्झौता गरेको रमन-सगरमाथा घिमिरे जेभीले हालसम्म करिब ७४ प्रतिशत मात्र भौतिक प्रगति देखाउन सकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाले जनाएको छ ।

 

रमन-सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार रुपैयाँमा वितरण लाइनको काम ठेक्का लिएको हो । रमन-सगरमाथा घिमिरेले ७३ वटा आरभिटी ट्यांकी, १७७ किलोमिटर पाइप लाइनलगायतको कामको जिम्मा लिएको छ । 

 

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्स्ट्रक्सनले म्याद गुज्रेको ९ महिना बित्दा करिब ७४ प्रतिशत हाराहारी भौतिक प्रगति देखाएको छ ।

 

१२२ वटा ट्यांकी, ३०० किलोमिटर पाइप लाइनलगायतको काम लामा कन्स्ट्रक्सनको जिम्मामा छ । उसले ३७ करोड ९३ लाख ५७ हजारमा ३० असार २०७७ सम्म सक्ने गरी ३१ असार २०७५ मा सम्झौता गरेको थियो ।

 

रमन-सगरमाथा घिमिरे जेभीका डाइरेक्टर शम्भु घिमिरे र लामा कन्स्ट्रक्सनका पिताम्बर बडुले केही प्रतिनिधिको भरमा आयोजनाको काम छाड्दा ढिलासुस्ती भएको स्थानीय सुरेन्द्र राईले बताए । प्रगति देखाउन नसकेपछि ठेकेदार कम्पनीले आफ्ना प्रतिनिधिलाई पटक-पटक परिवर्तन गरेर छल्ने गरेको स्थानीयको गुनासो छ ।

 

ठेकेदारको ढिलासुस्तीमाथि लकडाउनले समेत योजनाको काममा असर पुर्‍याएको थियो । १६ मंसिर २०७६ मा गरिएको सर्वदलीय अनुगमनका क्रममा पम्पिङ खानेपानी आयोजनाको काममा ढिलासुस्ती देखिएपछि ठेकेदारलाई कारबाही गर्न भोलिपल्टै खानेपानी मन्त्रालयसमक्ष सिफारिस गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताए ।

 

सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको विकल्प छैन । पानीको स्रोत नभएको तथा जनसंख्या वृद्धिका कारण भएका स्रोतले अपुग हुन थालेकाले हलेसी क्षेत्रलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ मा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।