close

सुहाग खोसिएको १२ दिनमै सुहागन

सुहाग खोसिएको १२ दिनमै सुहागन

Trulli
ADVERTISEMENT

गुल्मी – गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ चारपालामा छोराको मृत्यु भएको १२औँ दिनमै आमा बालकुमारी खत्रीले बुहारी विष्णु खत्रीलाई रातो दोसल्ला र रातै सारी लगाइदिएकी छन् ।

 

मोटरसाइकल दुर्घटनामा परी गत २७ चैतमा ठूलोपोखरा माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका रामबहादुर खत्रीको ४५ वर्षको अल्पायुमै मृत्यु भएको थियो ।

 

ठूलोपोखरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष छमकला सूर्यवंशीले विष्णु खत्रीलाई रातो चुरा र सारी लगाइदिने अभियानको नेतृत्व लिएकी हुन् । 

 

कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष मीना भण्डारीले महिला अधिकारका लागि संस्थाले गरेको काम उदाहरणीय रहेको बताइन् । श्रीमान् बितेपछि एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण बदल्न पनि यो अभियान सकारात्मक रहेको उपाध्यक्ष भण्डारीको भनाइ छ । 

 

हिन्दु परम्पराअनुसार श्रीमान्को मृत्युपछि श्रीमतीले रातो वस्त्र नलगाउने प्रचलन रहेकामा १२औँ दिनको पुण्यतिथिमा सहकारी संस्थाको आयोजनामा पुरानो अन्धविश्वास र कुरीति हटाउन यसो गरिएको गाउँपालिका कार्यपालिका सदस्य तुल्सा अर्यालले बताइन् ।

 

मृतक खत्रीकी श्रीमती विष्णुले यो कार्यक्रमले श्रीमान्काे मृत्युको पीडालाई केही हदसम्म भए पनि भुलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 

संस्थाकी अध्यक्षसमेत रहेकी मृतक खत्रीकी श्रीमती विष्णुले समाजमा ठूलाबडा भनाउँदाहरूले नै विधवा देखे साइत नपर्नेजस्ता आरोप लगाइने गरेकामा परिवर्तनको अभियानले सबैलाई घचघच्याउने धारणा व्यक्त गरिन् ।

 

कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, महिला अधिकारकर्मी, जनप्रतिनिधिलगायत उपस्थित थिए ।