close

पक्की पर्खालले जोगायो दरवाङ बजार

पक्की पर्खालले जोगायो दरवाङ बजार

Trulli
ADVERTISEMENT

म्याग्दी - मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई बर्खामा म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल प्रभावकारी बनेको छ । 
यो वर्षको बर्खामा म्याग्दी नदीमा आएको ठूलो बाढीको चापलाई रोक्न पक्की पर्खालले बजारलाई कटान हुनबाट बचाएको हो । नदी किनारमा ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । 


बर्खा नलाग्दै निर्माण गरिएको पर्खालका कारण यस वर्ष ठूलो बाढी आउँदासमेत बजारलाई कटान हुनबाट बचाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए । बाढीले किनारमा लगाइएको ग्याबिन पर्खाल भने बगाएको छ । खोला आएर ठोक्किने मुख्य ठाउँमा बनाएको पक्की पर्खालका कारण कटान हुन नपाएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । 


दरवाङ बजार संरक्षणका लागि गत आर्थिक वर्ष ०७६/७७ मा मालिका गाउँपालिकाले ५५ लाख र संघीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत २५ लाख रुपैयाँ विनियोजन भएको थियो । 


कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीको समय सदुपयोग गर्दै गत वैशाख, जेठमा दरवाङका बासिन्दाले बजार संरक्षण योजनामा श्रमदान गरेका थिए । आलोपालो गरेर नदी नियन्त्रण योजनाका लागि ढुंगा संकलन र ढुवानी गर्न श्रमदान गरेका थिए ।  


दरवाङमा रहेका ७ टोल विकास समितिको संयोजनमा ३ सय घरधुरीलाई आलोपालो गरेर श्रमदानमा परिचालन गरिएको थियो । स्थानीयको सक्रिय सहभागिताका कारण बर्खा नलाग्दै पर्खाल निर्माण सकिएकाले बाढी आउँदा कटान हुन नपाएको उपभोक्ता समितिका अध्यक्ष मनोज सिउथानीले जानकारी दिए ।

 
काम गर्दागर्दै नदीमा बाढीको सतह बढेपछि पक्की पर्खाल पछाडिको खाडल पुर्न र ग्याबिन पर्खाल निर्माण हुन सकेको थिएन । यस वर्ष पनि पक्की पर्खाल निर्माणलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।