close

रेल ल्याउन जुट्यो तिलोत्तमा नगर, ५ सय लगानीकर्ता जुटे

६० सहकारीकाे लगानीमा दुग्ध प्रशोधन केन्द्र बन्दै

रेल ल्याउन जुट्यो तिलोत्तमा नगर, ५ सय लगानीकर्ता जुटे

६० सहकारीकाे लगानीमा दुग्ध प्रशोधन केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

रुपन्देही - गत वर्ष लगानी सम्मेलन गरेर चर्चामा आएको तिलोत्तमा नगरपालिकाले  १६ अर्ब प्रतिबद्धता प्राप्त गरेको एक वर्ष पूरा भएको छ ।


सम्मेलनका बेला विभिन्न आयोजनामा २२ क्षेत्रमा लगानी गर्न निजी क्षेत्र इच्छुक भएका थिए । कोरोना महामारीले सबै क्षेत्र बन्द भए पनि केही काम अघि बढेको नगरपालिकाले जनाएको छ ।


तिलोत्तमामा गरिएको लगानी सम्मेलनमा आएको प्रतिबद्धताअनुसार वडा नम्बर ६ पश्चिमपौनेमा ६० करोड लगानीमा दुग्ध संकलन तथा प्रशोधन केन्द्र बन्ने भएको छ ।


प्रदेश ५ का विभिन्न ६० सहकारी संस्थाको संयुक्त लगानीमा प्रशोधन केन्द्र बन्न लागेको नगरप्रमुख घिमिरेले बताए । वार्षिक ५० लाख लिटर दूध प्रदेशबाहिर निर्यात गर्दा कृषकले मूल्य नपाउने समस्या प्रशोधन केन्द्र स्थापनापछि समाधान हुने अपेक्षा उनको छ ।


उत्पादित दूध प्रदेशभित्रै खपत गरी दुग्धजन्य पदार्थ उत्पादनमा टेवा पुग्ने गरी उद्योग सञ्चालनमा ल्याउन लागिएको उनले बताए । प्रशोधन केन्द्र स्थापनका लागि डिपिआरको काम भइरहेको छ । सहकारी संस्थाहरूले सुरुमा ३ करोड रकम जम्मा गरी काम सञ्चालन गरिरहेका छन् ।


लगानी सम्मेलनमा भएको अर्को महत्वाकांक्षी योजनाका कृषि उपज तथा थोक संकलन केन्द्र निर्माणको कामले पनि गति लिएको छ । तिलोत्तमा–१७ गँगोलीयामामा बन्ने संकलन केन्द्रका लागि तिलोत्तमाका २५ सहकारी संस्थाहरूले लगानी गर्ने भएका छन् । 


पीपीपी मोडलअनुसार ३० करोड लागतमा बन्ने केन्द्रका लागि डिपीआरको काम सुरु भएको नगरपालिकाले जनाएको छ । ६ बिघा क्षेत्रफलमा बन्ने संकलन केन्द्रमा ४ हजार मेट्रिक टन क्षमताको कोल्डस्टोर तथा ३ हजार मेट्रिकटन क्षमताको गोदाम घर बन्नेछ । 


संकलन केन्द्रमार्फत कृषकका उत्पादनलाई संकलन गरी वितरण गर्नुका साथै बिक्री नभएका उत्पादनलाई नगरपालिकाले उचित मूल्यमा खरिद गर्ने नगरप्रमुख घिमिरेले बताए ।


तिलोत्तमा नगर परिक्रमा गर्ने गरी पर्यटन प्रवद्र्धनका लागि रेल सञ्चालन गर्न ५ सय  लगानीकर्ताले रुचि देखाएको उनले जानकारी दिए । तिलोत्तमाको जोगीकुटी, रोहिणी, मेडिकल कलेज, वनवाटिका, टिकुलीगढ, गंगोलियालगायत सबै ठाउँलाई छुने गरी ५० किलोमिटर लामो मार्गमा रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । 


डिपीआर तयार भई ५ अर्ब लगानी अनुमान गरिएको आयोजनाका लागि तिलोत्तमा रेलवे कम्पनी दर्ता भइसकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । 


यसैगरी निजी लगानीमा नेपालकै ठूलो एएसी ब्लग निर्माण कम्पनी सञ्चालनमा आउने भएको छ । धुँवारहित हुने यो उद्योग सञ्चालनका लागि ७० करोड लागत अनुमान गरिएको छ ।


तिलोत्तमाको वडा नम्बर ६ मा उद्योग स्थापना हुँदै छ । यस्तै, वडा नम्बर १३ र १४ टिकुलीगढमा बसपार्क बन्दै छ । संघीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा बन्ने बसपार्कका लागि ५५ करोड लागत अनुमान गरिएको छ ।


त्यसका लागि नगरपालिकाले यो वर्ष १ करोड विनियोजन गरेको छ । तिलोत्तमा औद्योगिक क्षेत्र निर्माणका लागि काम अगाडि बढेको छ । वडा नम्बर १० मा बन्ने औद्योगिक क्षेत्रका लागि ५२ करोड लागत अनुमान गरिएको नगरपालिकाले जनाएको छ । यसका लागि संघीय सरकारले ९२ र नगरपालिकाले १ करोड ५८ लाख विनियोजन गरेको छ ।


लगानी सम्मेलनमा भएका प्रतिबद्धताअन्तर्गत नगरमा महिला तथा बाल अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । रोटरी क्लब अफ रुपन्देहीको ८० लाख तथा नगरपालिकाको २० लाख लगानीमा अस्पताल निर्माण भएको हो । 


वडा नम्बर १० सेमरामा निर्माण गरिएको अस्पतालाई सुविधासम्पन्न हुने गरी १५ शैया क्षमतामा सञ्चालन गरिने नगरप्रमुख घिमिरेले बताए । पीपीपी मोडलअनुसार बन्ने सिटी कलेजका लागि ३ तलाको २६ कोठे भवन ढलान भइसकेको छ ।


तिलोत्तमा–१४ पत्थरडाँडामा ४ करोड लगानीमा भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमामा मासु प्रशोधन केन्द्र्र स्थापनका लागि निजी क्षेत्रबाट काम भइरहेको छ । ८० करोड लागतमा बन्ने प्रशोधन केन्द्रका लागि निजी क्षेत्रबाट ४ बिघा जग्गा खरिद भई काम अगाडि बढेको नगरप्रमुख घिमिरेले बताए ।

 

लगानी सम्मेलनमा रिडी हाइड्रोले ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, १ अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनिनेपाल प्रालिबाट पर्यटन क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न १ अर्ब ५० करोड लगानी प्रतिबद्धतासहितको सम्झौता भएको थियो ।