close

१ दशकमा उलटफेर भएको च्यवनधाम

जहाँ ढुंगा-ढुंगामा देवताको बास छ

१ दशकमा उलटफेर भएको च्यवनधाम

जहाँ ढुंगा-ढुंगामा देवताको बास छ

Trulli
ADVERTISEMENT

तनहुँ- पृथ्वी राजमार्गमुनि सेती नदीको तीर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तीरसम्म पुग्नलाई साँघुरो गोरेटो । मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीस्थित सेती नदी ढुंगाले भरिएका किनारको स्वरूप एक दशकमा उलटफेर भएको छ । 

 

दिउँसै डर लाग्दो त्यो नदी छेउको थुम्को अहिले पवित्रधाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ । 


‘जहाँ ढुंगामा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ’

 

यी गीतमा समावेश सुन्दर पंक्तिलाई गाछेपानीबासीले १ दशकको अवधिममा प्रमाणित गरेरै देखाइदिएका छन् । एक्लै हिँड्न पनि डर लाग्ने कुरूप साँघुरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने कल्पना गाछेपानीबासीले सायद सोचेका पनि थिएनन् ।

 

तर, त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीबासीको एकताले तनहुँकै चर्चित धार्मिक स्थल बनाउन सफल भएका छन् । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले कहलिएको छ । भगवान् शिवजीप्रति आस्थावान भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दु धर्मको मात्र होइन, च्यवनधाम बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको थलो हो । 


२०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवाला हडप्न खोजेका पनि थिए । ‘यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तीरसम्म पुग्ने बाटो नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ,’ मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका सचिव दुर्गादत्त सापकोटा सम्झन्छन्, ‘जग्गा संरक्षण गर्न भुलभुले वाराही एकता समाजले वृक्षारोपण ग¥यो । यहीँको पुन मगर समाजले तारबार लगायो ।’

 

पुन मगर समाजले तारबारमा साथ दिनुको कारण तिनको अन्तिम घर अर्थात् चिहान त्यही आडैमा थियो । जग्गा संरक्षणको २ वर्षपछि २०६७ मा काठमाडौं बस्दै आएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भयो । पौडेलले सेतीको तीर तपोभूमि भएको सुनाए । यसै पनि शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रूपमा चिनिन्थ्यो ।

 

‘गुरुले मुक्तिनाथमा गएर ध्यान बस्दा यहाँको वस्तुस्थिति देखेको सुनाउनुभयो । उहाँले नै तपोभूमि बन्छ भनेपछि हामीले मन्दिरको अवधारणा बनायौँ’, सापकोटाले भने ।

 

सोही वर्षको कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो ।

 

मन्दिर बनाउन कस्एिपछि आर्थिक अभाव भयो । देशभर आर्थिक संकलनका लागि महायज्ञ गर्ने ट्रेन्ड चलेका बेला त्यसैलाई फलो गर्न जुक्ति निक्लियो ।

 

पूर्वाधार निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यले सोही वर्षको १० देखि १७ चैतसम्म सञ्चालन भएको महायज्ञमा १ करोड ५० लाख रुपैयाँ आर्थिक संकलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माण सुरु भएको हो ।

 

‘महायज्ञमा उठेको रकमले समितिलाई हौसला थप्यो,’ १ दशक अगाडिका दिन स्मरण गर्दै सापकोटाले भने । महायज्ञ लगाएको ६ महिनापछि २०६८ कात्तिकमा मन्दिर शिलान्यास गरेसँगै पूर्वाधार निर्माणको चरण सुरु भएको हो । अझै पनि निरन्तर चलिरहेको छ । 

 

च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर छ । मन्दिरको छानो हालै तामाले छाइएको छ । शुक्लेश्वरको आसपास सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिर पनि बनाइएको छ । 

 

मन्दिरका अलावा मुक्तिनाथकै झल्को दिने १ सय ८ सहस्रधारा, १ सय ८ ओमकार कल्पवृक्ष, १ सय ८ शिवलिंग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना बनाइएको छ । 

 

बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरुकतालाई सम्मान गर्दै गुम्बा बनाइएको सापकोटाले सुनाए । 

 

यहाँ बनाईएको गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उनको बुझाइ छ । मन्दिर क्षेत्रमा १ दशकको अवधिमा ३ करोड रुपैयाँ बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै संघीय, प्रदेश र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् ।

 

च्यवनधाममा पूर्वाधार थप्दैै गएपछि अबको १ दशकमा यो क्षेत्र आन्तरिक पर्यटकको उत्कृष्ट केन्द्र बन्नेछ’, सापकोटाले भने । पूर्वाधार थप गर्न ३ वटै तहका सरकारसँग सहयोग माग्ने उनले जानकारी दिए । ‘सरकारी निकायबाट सहयोग आइरहेको छ । तर, जति सहयोग आउँछ, त्योभन्दा दोब्बर-तेब्बर खर्च हामीले गरेका छौँ । स्थानीयको एकता मजबुत छ,’ सापकोटाले भने ।

 

अब धाम परिसरमा बृहत् योजनाअनुसार विकास गरिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । ‘गुम्बाको तलपट्टि मिनी चिडियाखाना बनाउने योजना छ । गण्डकी तीरको ढिस्को माथिपट्टि हनुमानको मूर्ति, त्यसको तलपट्टि शनि देवताको मूर्ति राख्नेछौँ’, उनले भने ।

 

च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुर्दशी र शिवरात्रिमा भक्तजनको घुइँचो लाग्छ । प्रत्येक वर्ष साउनमा शिवपुराण लगाइने लम्सालले बताए । उनका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्रि पर्वका बेला यहाँ दैनिक ५ हजार बढी भक्तजनले दर्शन गर्छन् । 

 

च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास छ । 

 

यो वर्ष गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख रुपैयाँ खर्चेर यहाँ रहेको १ सय ८ धाराको माथिपट्टि कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिकी सह–सचिव अस्मिता खनाल बताउँछिन् । उनी भन्छिन्, ‘कृत्रिम हिमालले आन्तरिक पर्यटन बढ्ने लक्षण देखिएको छ ।’

 

यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिक स्थल ढोरवाराही मन्दिर पुगिन्छ । ढोरवाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेको उनको भनाइ छ । ढोरवाराही र च्यवनधामलाई जोडेर प्रचार गर्न सके दैनिक हजारौँ धार्मिक पर्यटक भित्र्याउन सकिने खनाल सुनाउँछिन् । 

 

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुआती बिन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङजालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीँबाट सुरु हुने भएकाले पनि पर्यटनले सम्भावना देखाएको हो ।

 

च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहाबले कुँदेर बनाएको प्राकृतिक ढुंगे बगैँचाले जोकोहीलाई मोहित गर्न सक्छ । च्यवनधाम र ढुंगे बगैँचामा म्युजिक भिडियो छायांकन गर्ने लहर चलेको छ, अचेल । 

 

च्यवनधामलाई तनहँुकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीयसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङ बताउँछन् । मिनी मुक्तिनाथको अवधारणा भएको हँुदा पूर्वाधार निर्माणमा नगरले बर्सेनि बजेट व्यवस्था गर्ने गरेको सुनाए ।

 

‘पूर्वाधार बनेपछि प्रचार–प्रसारमा जोड दिन्छौँ’, उनले भने, ‘वरपरका गन्तव्यसँगै मुक्तिनाथ पुग्ने पर्यटकलाई च्यवनधाममा आउने वातावरण बनाउनेछौँ ।’