close

बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम 

बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिका-४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको छ । 

 

समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले सुरु गरेको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत बड्कादियालेमा अभिमुखीकरण गरिएको छ ।

 

कार्यक्रमको पहिलो चरणअन्तर्गत वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, दलित समुदायलाई सहभागी गराएर कार्यक्रमको उद्देश्य, लक्ष्य, यसको स्वरूपबारे जानकारी दिइएको कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगेले बताए । 

 

दोस्रो चरणमा प्रत्येक दलित समुदायको घर-घरमै पुगेर उनीहरूको समस्या पहिचान गरेर आवश्यक तालिम सञ्चालन गरिनेछ । यस्तै, उद्यम तथा व्यवसाय सञ्चालन गर्न दलित समुदायमध्येबाट ५ जनालाई छनोट गरेर आवश्यक सामग्री प्रदान गरिने सहजकर्ता नारथुंगेले बताए ।

 

बड्कादियालेमा आयोजित कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, सामी परियोजना खोटेहाङका वित्तीय साक्षरता सहजकर्ता युवराज विकलगायतले शुभकामना दिएका थिए । 

 

दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७/७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर ९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको हो ।

 

कार्यक्रमका लागि चालू आर्थिक वर्ष लिच्कीराम्चे, बड्कादियाले र खोटेहाङको वडा नम्बर ३ सावाकटहरेलाई छानिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले जानकारी दिए । ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि परेका प्रस्तावमध्ये नारथुंगेको प्रस्ताव छनोट भएको हो ।