close

बागलुङका विद्यालय एक साता बन्द

बागलुङका विद्यालय एक साता बन्द

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाले शुक्रबार सार्वजनिक सूचनामार्फत १२ देखि १९ वैशाखसम्म नगरभित्रका सबै विद्यालय बन्दको आह्वान गरेको हो । 

 

शुक्रबार नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले १ साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीलाई सुरक्षित राख्ने उद्देश्यले नगरभित्रका विद्यालय साताव्यापी बन्न गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणि शर्माले बताए । 

 

बागलुङकै बलेवा क्षेत्रमा रहेका विद्यालयमा धमाधम कोरोना संक्रमण देखिएपछि बलेवाका ३ वटा वडामा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । अभिभावकले समेत विद्यार्थी जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । बागलुङ नगरभित्र सञ्चालनमा रहेका ट्युसन सेन्टर, भाषा तयारी कक्षा, कोचिङ कक्षासमेत बन्द गर्न शिक्षा शाखाले निर्देशन दिइएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुरक्षा मापदण्डसम्बन्धी सूचनामा २५ जनाभन्दा बढी व्यक्ति मलामीसमेत जान नपाउने उल्लेख गरिएकामा विद्यालयबारे कुनै सम्बोधन नभएपछि सरकारी निकायको आलोचना भएको थियो ।