close

रावाबेँसीमा फलफूल खेती गर्नेलाई पेन्सन 

रावाबेँसीमा फलफूल खेती गर्नेलाई पेन्सन 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकाले फलफूल किसान पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रूपमा नियमित आम्दानी लिन सक्ने अवस्थामा पु र्‍याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ बाट फलफूल बगैँचा विस्तार कार्यक्रमअन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।

 

फलफूललाई किसानको पेन्सनका रूपमा आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँपालिकाले चालू आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकाडो र कागतीका बिरुवा वितरण गर्ने तयारी छ ।

 

किसानलाई नगदे बाली फलफूल खेतीमा आकर्षित गर्न यसलाई भविष्यको पेन्सनको नारा दिइएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए । आगामी १५ वैशाखसम्म किसानबाट एभोकाडो र कागतीका बिरुवा माग गर्न आह्वान गरिएको र सोही मागका आधारमा बिरुवा बाँडिने गाउँपालिकाले जनाएको छ ।

 

६ वटा वडा रहेको गाउँपालिकामा फलफूल बगैँचा विस्तार कार्यक्रमअन्तर्गत किसान पेन्सन कार्यक्रमका लागि चालू आर्थिक वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवद्र्धनका लागि बजेट खर्चिएको गाउँपालिकाले चालू आर्थिक वर्ष भने किसान पेन्सनको नाम दिएर एभोकाडो र कागतीका बिरुवा वितरण गर्ने तयारी गरेको हो ।

 

‘फलफूल खेतीलाई किसानको पेन्सन मानिन्छ । उमेर हुँदा किसानले फलफूल लगाइराखे भने त्यसले जीवनको उत्तराद्र्धमा पेन्सनको रूपमा काम दिने भएकाले नारा नै किसानको पेन्सन बनाएका हौँ,’ कृषि शाखा संयोजक राईले भने, ‘भोलिको दिनलाई सुरक्षित गर्नुहुन्छ भने फलफूलका बिरुवा लगाउनुस्, जसले बुढेसकालमा पेन्सनको रूपमा सहयोग गर्छ । बिरुवालाई ५/६ वर्ष हुर्काउन सकियो भने त्यसले हामीलाई जीवनभर पाल्न सक्छ ।’ 

 

एभोकाडो र कागतीका बिरुवा लिन गाउँपालिकाले ५०० मिटरदेखि १८ सय मिटर उचाइसम्मका भूगोलका किसानलाई आवश्यक कागजातसहित बिरुवा माग गर्न सूचना आह्वान गरेको छ । चक्लाबन्दीमा मिलेर फलफूल बगैँचा स्थापना गर्न चाहने समूह वा किसानलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

 

फलफूलका बेर्ना लिन कृषक समूहको निर्णय प्रतिलिपि, बिरुवा माग गर्ने किसानको नागरिकताको प्रतिलिपि, बिरुवा माग गर्ने किसानको लालपुर्जाको मञ्जुरीनामा पत्र, आवश्यक मल, जल र खाल्डोको व्यवस्थापन गर्ने प्रतिबद्धता–पत्रसहित वडामा कार्यरत कृषि प्राविधिकलाई माग निवेदन बुझाउने व्यवस्था मिलाइएको छ । 

 

कृषि प्राविधिकको सल्लाहअनुसार दूरी कायम गरी खाल्डो तयार भएपछि मात्र किसानलाई बिरुवा उपलब्ध गराइने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।