close

चोला फेर्दै सोती खोला

चोला फेर्दै सोती खोला

Trulli
ADVERTISEMENT

काभ्रे- केही दशक अघिसम्म भकुन्डे क्षेत्रको सिँचाइको मुख्य आधारको रूपमा रहे पनि पछिल्ला वर्ष अस्तित्व खोजिरहेको सोती खोलाले रूप फेर्ने भएको छ । सोती खोलाको भरमा रहेका भकुन्डे फाँटका हजारौँ रोपनी जग्गा पुनः सिँचाइ सुविधासहित हराभरा हुने भएका छन् ।

 

नमोबुद्ध नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम सुरु गरेसँगै सोतीले आफ्नो रूप फेर्न लागेको हो । यो कार्यक्रमअन्तर्गत अहिले पहिलो चरणमा नगरपालिकाको वडा नम्बर २ मा झन्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको छ । 

 

वन तथा वातारण मन्त्रालयको जलवायु नमुना कार्यक्रमअन्तर्गत आधा किलोमिटर क्षेत्रमा सोती खोला संरक्षणका लागि दायाँबायाँ पर्खाल लगाउने काम सकिएको छ ।

 

बहुवर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुन्डे र आसपासका किसानले पर्याप्त मात्रामा सिँचाइ सुविधा उपभोग गर्न पाउनेछन् । नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ को नापीअनुसार खोलाको सीमांकन गरेर काम सुरु गरेको थियो । पहिलो चरणमा खोलाको संरक्षण गर्ने, बीचबीचमा पोखरी निर्माण गर्ने, खोलाको दुवैतर्फ वृक्षारोपण गर्ने र सोती कोरिडोर निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।

 

कुनै बेला सिँचाइका लागि सोती खोलाको पानी उपभोग गर्ने गरेको सम्झँदै नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले पुनः पहिलेकै अवस्थामा सोतीमा पानीको व्यवस्थापन गरेर कृषि क्षेत्रको प्रवद्र्धनका लागि कार्यक्रम सुरु गरिएको बताए । ‘हामी सानो छँदा सोती खोलामा हिउँदमा पनि पानी अभाव थिएन । बीचबीचमा पोखरीसमेत थिए’, शर्माले भने, ‘अहिले सिँचाइ अभावका कारण वर्षायाममा समेत खेती गर्न समस्या भएकाले आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको हो ।’ 

 

अहिले खोलाको मूलसमेत सुकेको र पानीको आधार नभएकाले भकुन्डे क्षेत्र सुक्खाग्रस्त रहे पनि केही वर्षपछि हराभरा हुने गरी कार्यक्रमलाई अघि बढाइएको उनले बताए ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार प्रदेश र संघीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रयास भइरहेको छ ।

 

सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमअन्तर्गत यो वर्ष ९९ लाख ६८ हजार रुपैयाँको काम सम्पन्न भएको छ । त्यसमा १५ लाख २९ हजार रुपैयाँ जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत खर्च भएको छ । 

 

नमोबुद्धका इन्जिनियर उज्ज्वल अर्यालका अनुसार सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कुल ४५ करोड ६८ लाख रुपैयाँ खर्च अनुमानसहितको डिपिआर तयार भइसकेको छ । डिपिआरअनुसार खोलाको दुवैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नगरपालिकाको वडा नम्बर २, ३, ४ र ७ अन्तर्गत ४.३०५ किमि लम्बाइमा सोतीखोलाको मुहानदेखि दाप्चा खोलासम्म यो काम सम्पन्न हुनेछ ।

 

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार भकुन्डे फाँटमा रहेका इँटा उद्योग विस्थापनसँगै किसानलाई राहत दिन यो योजना फलदायी सावित हुनेछ । सोती खोला अहिले डोबको रूपमा मात्रै रहेको र पहिलेको नापीअनुसार खोलाको क्षेत्र छुट्याएर सोतीलाई पुनर्जीवन दिन लागिएको हो ।


वरपर सुक्खा रहेको क्षेत्रमा कृषिमार्फत जनताको आर्थिक उन्नतिमा टेवा पुर्‍याउन योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने काफ्लेको दाबी छ । उनका अनुसार सोती खोलामा पानीका लागि डिप बोरिङ सञ्चालन गरेर बोरिङको पानीलाई खोलामा बगाएर ठाउँ-ठाउँमा पोखरी निर्माण गरिनेछ ।

 

‘जमिनको पानी निकालेर जमिनमै बगाएर जमिनभित्रै पुर्‍याउने लक्ष्य छ । यसले जमिनमुनि पानी रिचार्जसमेत हुनेछ,’ काफ्लेले भने । खोलाको ठाउँ–ठाउँमा निर्माण गरिने पोखरीबाट पानी तानेर सिँचाइ गर्न सोलार व्यवस्थापन गरिने उनले जानकारी दिए ।


सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमको पहिलो चरणको काम सकिएपछि वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा. राधा वाग्ले र बिन्दुकुमारी मिश्र तथा उपसचिव सिर्जना श्रेष्ठ, नगरप्रमुख तिमल्सिनालगायतले कार्यक्रम स्थलको अनुगमन गरे ।

 

अनुगमनका क्रममा सहसचिव डा. वाग्लेले नगरपालिकाको तदारुकताकै कारण कार्यक्रम अघि बढाइएको र किसानलाई सुविधा पुर्‍याउन प्रभावकारी हुने बताइन् ।

 

विगतमा अतिक्रमित भएको खोलालाई पुरानै अवस्थामा ल्याएपछि यसले स्थानीयको जनजीविका सहज बनाउने उनको विश्वास छ । वन मन्त्रालयकी उपसचिव सिर्जना श्रेष्ठले आगामी वर्षमा कार्यक्रमलाई निरन्तरता दिने र जलवायु नमुना कार्यक्रमलाई नमुनाको रूपमा अघि बढाइने बताइन् । 

 

नमोबुद्धमा यो कार्यक्रमले सफलता पाएपछि देशका अन्य स्थानमा पनि यसलाई मोडलको रूपमा लिएर सञ्चालन गरिने श्रेष्ठले जानकारी दिइन् ।