close

कोरोना संक्रमण नियन्त्रणमा भक्तपुरका स्थानीय तह: कतै योजना, कतै तयारी

कोरोना संक्रमण नियन्त्रणमा भक्तपुरका स्थानीय तह: कतै योजना, कतै तयारी

Trulli
ADVERTISEMENT

भक्तपुर- पहिलो चरणको कोरोना भाइरसको त्रास हट्न नपाउँदै पुनः दोस्रो चरणको संक्रमण सुरु भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा भक्तपुरका स्थानीय तह पनि जुटिसकेका छन् । भक्तपुरका स्थानीय तहमा कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष सञ्चालनमा रहेका आइसोलेसन तथा क्वारेन्टाइन बन्द भइसकेका छन् । 

 

संघीय सरकारले कोरोना संक्रमित राख्न भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई आइसोलेसन बनाएको थियो । तर, कोरोना संक्रमण घटेसँगै आइसोलनका सबै सामग्री फिर्ता लगिएको छ । केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

 

भक्तपुरमा हालसम्म १० हजा बढी कोरोना संक्रमित भएका छन् । दोस्रो चरणको कोरोना रोकथामका लागि भक्तपुरका ४ वटै नगरपालिकाले आइसोलेसन निर्माणसँगै प्राविधिक व्यवस्थापनमा जुटेका छ । 

 

चाँगुनारायण नगरपालिका


चाँगुनारायण नगरपालिकाले विकास निर्माणभन्दा पनि स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार विकास निर्माणलाई थाती राखेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । 
 
नगरले दोस्रो चरणको कोरोना रोकथामका लागि आइसोलेसन निर्माण गरेको छ । स्थानीयलाई औषधी अभाव हुन नदिन ३ महिनासम्मका लागि औषधी खरिद गरिसकेको छ । 


स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालका अनुसार नगरपालिकाभित्रका सबै वडा कार्यालय र स्वास्थ्य चौकीमा मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । कोभिड-१९ एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । 

 

‘गत वर्ष कोभिडका बिरामीसँग चिकित्सक परामर्श कार्यक्रम सञ्चालन गरेका थियौँ । यसलाई पुनः सञ्चालनमा ल्याउनेछौँ’, दुवालले भने, ‘नगर अस्पतालमा ५ बेड र झाप्रोमा २ वटा बेडलाई आइसोलेसनका लागि तयारी अवस्थामा राखेका छौँ ।’ 

 

भक्तपुर नगरपालिका

 

भक्तपुरले स्थानीय जनतालाई सचेत बनाउन कोरोनाबाट बच्ने उपायसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाले ६० वटा बेड क्षमतासहितको आइसोलेसन निर्माण गरेको छ । त्यसका लागि आवश्यक सबै तयारी भइसकेको स्वास्थ्य शाखा प्रमुख रत्नसुन्दर लासिवाले बताए । 

 

उनका अनुसार आइसोलेसनमा रंगरोगन कार्य र बेड मिलाउने काम भइरहेको छ । कोही बिरामी भइहाले त्यहाँ राख्न सकिन्छ । 

 

सूर्यविनायक नगरपालिका


सूर्यविनायक नगरपालिकाले कोभिड-१९ रोकथामका लागि जनप्रतिनिधिको उपस्थितिमा सचेतना कार्यक्रम गर्दै आएको छ । नगर उपप्रमुख जुना बस्नेतका अनुसार गाम्चाको नगर अस्पतालमा आइसोलेसनका लागि तयारी भइसकेको छ । 

 

विद्यार्थी संख्या धेरै भएका नगरभित्रका शैक्षिक संस्थामा कोभिड-१९ परीक्षण गर्ने योजनामा पालिका छ । यसका लागि आवश्यक तयारी भइरहेको बस्नेतले बताइन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक क्रियाकलाप गर्न पालिकाले स्थानीयलाई अनुरोध गरेको जनाएको छ । 

 

मध्यपुर थिमि नगरपालिका


नगरभित्रका मुख्य-मुख्य चोकमा पालिकाले पानी तथा साबुनको व्यवस्थापन गरेको छ । सामाजिक दूरी कायम गरी कार्य सम्पादन गर्न पालिकाले अनुरोध गरेको छ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार आवश्यक परे आइसोलेसन सञ्चालन गर्ने योजना पालिकाको छ । स्थानीयलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरिएको छ ।