close

हिमपातले भरिए कर्णालीका डाँडाकाँडा 

हिमपातले भरिए कर्णालीका डाँडाकाँडा 

Trulli
ADVERTISEMENT

मुगु- बुधबार बेलुकीबाट लगातार वर्षा भएपछि कर्णालीका उच्च हिमाली जिल्लामा बाक्लो हिमपात परेको छ । विगतका वर्षमा सबैभन्दा बढी हिउँ पुस, माघ र फागुनमा परे पनि यो वर्ष हिमपात भएन ।

 

पुस, माघ र फागुनमा हिउँ नपरेपछि कर्णालीका किसानले लगाएको जौ, गहुँ, उवा खडेरीले सुकिसकेका थिए । वैशाख पहिलो साता पानी परेसँगै मुगुलगायत अन्य जिल्लाका उच्च बस्तीमा बाक्लो हिउँ परेको हो ।


कर्णालीका मुग, जुम्ला, कालीकोट, हुम्ला, डोल्पाका अधिकांश बस्तीहरूमा हिउँ परेपछि डाँडाकाँडा सेताम्मे भएका छन् भने चिसो पनि निकै बढेको छ । ढिलै भए पनि हिउँ पर्दा अब किसानलाई रैथाने अन्नबाली लगाउन सहज भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का बालकृष्ण कार्कीले बताए ।


‘धेरै वर्षपछि वैशाख अर्थात् वसन्त ऋतुमा हिउँ परेको देख्न पाइयो । लामो समयसम्म पानी नपर्दा तराईको पुस, माघजस्तो वायु प्रदूषणले आकाशमा तुँवालो लागेको थियो भने धुलो-धुँवा निकै बढेको थियो । बुधबार राती परेको हिउँ-पानीले आकाश खुला देखिएको छ’, जिल्ला अस्पतालका डा. अर्जुन भामले भने ।

 

हिमपातले सबैभन्दा बढी लाभ किसानलाई भएको छ । खेती गर्ने बेला पानीसँगै हिउँ परेपछि किसानले लगाएका स्याउ, ओखर, आरुलगायत फलफूल बिरुवामा फूल फुल्ने समय हो ।

 

किसानले कोदो, मकैलगायतका अन्य अन्नबाली खेतबारीमा काम लगाउन थालेका छन् । हिमपातले किसानलाई थप राहत भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले बताए ।