close

जनकपुरमा मापदण्डविपरीतका खानेपानी उद्योग सञ्चालन

जनकपुरमा मापदण्डविपरीतका खानेपानी उद्योग सञ्चालन

Trulli
ADVERTISEMENT

जनकपुरधाम - जनकपुरधाम उपमहानगरभित्र मापदण्डविपरीत पानी उद्योग सञ्चालन हुँदै आएको रहस्य खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले गरेको अनुगमनका क्रममा पानी उद्योगहरू मापदण्डविपरीत सञ्चालन भइरहेको देखिएको हो ।


घरेलु तथा साना उद्योग कार्यालयको अनुमति लिएर उपनगरभित्र सञ्चालनमा रहेका दर्जनौं पानी उद्योगले न्यूनतम मापदण्डसमेत पूरा नगरेको अनुगमनका क्रममा फेला परेको छ ।


जनकपुरधाम उपमहानगर– १९ स्थित जयप्रकाश साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योग, जनकपुरधाम– १४ स्थित डेली फ्रेस वाटर, जनकपुरधाम– ८ स्थित बेचन यादवले सञ्चालन गरेको एभरेस्ट मिनरल वाटरलगायतका उद्योग खाद्य निर्देशिकाविपरीत सञ्चालनमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।


‘पानी उद्योगमा लेबल विवरण अपूर्ण रहेको, सरसफाइ, पूर्वाधार पालना नगरिएको, भण्डारण कक्षको व्यवस्थापन भद्रगोल रहेको भेटिए’, उनले भने । केही पानी उद्योगले बोतलमा उत्पादन मिति र म्याद मिति उल्लेख नगरेको उनले बताए । 


‘खाद्य निर्देशिकाविपरीत सञ्चालनमा रहेका पानी उद्योगलाई कानुनबमोजिम कारबाही गर्न प्रक्रिया अगाडि बढाएका छौं’, तिवारीले भने, ‘तत्कालका लागि नियमविपरीत उत्पादन गर्ने उद्योगलाई पानी बिक्री वितरणमा रोक लगाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

 

कारबाहीबिनाको अनुगमन ! 


सरकारी निकायले नगरभित्र सञ्चालनमा रहेका यस्ता उद्योगको बेलाबेला अनुगमन गर्छ । प्रतिवेदन तयार हुन्छ तर कारबाही  हुने गरेको छैन । अनुमगन अधिकृतले उद्योगीसँग मोलमोलाइ गर्ने हुँदा कारबाही नहुने गरेको स्थानीयको आरोप छ ।

 

नगरभित्र मापदण्डविपरीत सञ्चालनमा रहेका  पानी उद्योगमा यसअघि गरिएको अनुगमनको रिपोर्टसमेत सार्वजनिक नभएको स्थानीय  सुशील कर्ण बताउँछन् ।


‘मापदण्डविपरीतका उद्योगमाथि कारबाही गर्नुको साटो स्थानीय प्रशासन र नगरपालिकाले झारा टार्ने काम मात्रै गर्दै आएका छन् । अनुगमन हुन्छ तर कारबाही भएको सुनिँदैन’, कर्णले भने ।


प्रशासन र नगरपालिकाले ध्यान नदिँदा नगरबासीले प्रदूषित खानेपानी उपभोग गर्नु परेको स्थानीय युवा विकास साह दाबी गर्छन् । ‘स्थानीय सरकारले जनस्वास्थ्यको सवालमा ध्यान दिनुपर्नेमा उल्टै दूषित पानी उत्पादकलाई साथ दिएको छ । स्थानीय सरकारले प्रयास गरे नियमविपरीत सञ्चालनमा रहेका पानी उद्योगलाई कारबाही गर्न सक्छ,’ उनले भने ।

 
स्थानीय उद्योग व्यवसायको अनुगमन र निरीक्षण गर्ने अधिकार प्राप्त जनकपुरधाम उपमहानगरकी उप–प्रमुख रीता मिश्रले  नगरभित्र कति पानी उद्योग सञ्चालनमा छन् भन्ने थाहा नभएको प्रतिक्रिया दिइन् । यस विषयमा राजस्वलाई सोध्नुपर्ने उनको भनाइ थियो । 


उपमहानगरका कर प्रमुख परमेश झा नगरभित्रका २५ वडामा ३५ पानी उद्योग दर्तामा रहेको बताउँछन् । नगरभित्र कति पानी उद्योग सञ्चालनमा छन् भन्ने विषयमा जनकपुरधाम उपमहानगर र घरेलु कार्यालयको तथ्यांक एकै किसिमको छैन । 


उपमहानगरका अनुसार सञ्चालनमा रहेका पानी उद्योगको संख्या बढी छ तर घरेलुमा दर्ता गर्ने संख्या न्यून । उपमहानगरले ३५ उद्योग दर्ता रहेको बताए पनि घरेलुले उपमहानगरभित्र २३ वटा मात्र उद्योग दर्ता भएका छन् ।