close

भूकम्पीय पुनर्निर्माण: खोटाङमा ७७८३ लाभग्राहीले लिए तेस्रो किस्ता 

भूकम्पीय पुनर्निर्माण: खोटाङमा ७७८३ लाभग्राहीले लिए तेस्रो किस्ता 

Trulli
ADVERTISEMENT

खोटाङ- ६ वर्षअघिको भूकम्पका कारण घरबारविहीन बनेका खोटाङका साढे ७ हजार बढी लाभग्राहीले तेस्रो किस्ताबापतको अनुदान बुझेका छन् ।

 

पुनर्निर्माणतर्फ ९ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा ७ हजार ७८३ लाभग्राहीले निजी आवास अनुदानबापत तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय खोटाङले जनाएको छ । 

 

०७२ भूकम्पको छैटौँ स्मृति दिवस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटमा हालसम्म पुनर्निर्माणतर्फ ९ हजार ६८ र प्रबलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुनर्निर्माणतर्फ ८ हजार ८९२ लाभग्राहीले दोस्रो किस्ता बुझेको जानकारी दिइएको हो ।

 

यस्तै, पुनर्निर्माणतर्फ ९ हजार ६८ घर र प्रबलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए । 

 

१२ वैशाख २०७२ भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ९६१ लाभग्राहीले दोस्रो किस्ता र १ हजार १०९ लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् । 

 

कुल लाभग्राहीमध्ये पुनर्निर्माणतर्फ २४२ र प्रबलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौतै नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी ढकालले बताए ।

 

‘हालसम्म जिल्लामा निजी आवास अनुदानतर्फ ९५.८३ प्रतिशत प्रगति भएको छ,’ सूचना अधिकारी ढकालले भने, ‘जिल्लामा हालसम्म पहिलो किस्ता लिने ९५.८३ प्रतिशत, दोस्रो किस्ता लिने ९०.२४ प्रतिशत र तेस्रो किस्ता लिने ७८.९९ प्रतिशत लाभग्राही छन् ।’ 

 

खोटाङमा ३ वैशाख २०७४ देखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले १९ जेठ २०७४ देखि पहिलो किस्ता, ३० वैशाख २०७५ देखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो । 


किस्ता बुझेर अझै आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्राही पनि उत्तिकै छन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक थियो । भूकम्पका कारण जिल्लामा १८ सरकारी भवनमा पूर्ण र ५५ भवनमा आंशिक क्षति पुगेको थियो । 

 

४ जनाले फिर्ता गरे अनुदान 


निजी आवास पुनर्निर्माणका क्रममा खोटाङमा १ जना लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै, दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेका छन् । 

 

प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ जनाको ६० लाख रुपैयाँ अनुदान फिर्ता गरिएको छ । 

 

यस्तै, पुरानो प्रावधानअनुसार २० र नयाँ प्रावधानअनुसार ५२४ लाभग्राहीलाई प्रबलीकरणबाट पुनर्निर्माण परिवर्तनका लागि सिफारिस गरिएको छ ।

 

यस्तै, भूमिहीन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २÷२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको ढकालले बताए । 

 

कार्यक्रममा कन्सल्टेन्ट इन्जिनियर चञ्चलकुमार झाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडकको प्रगतिका विषयमा जानकारी दिएका छन् । गुम्बा पुनर्निर्माणसम्बन्धी प्रगतिका विषयमा प्राधिकरणका इन्जिनियर अर्जुन रावलले बताए ।

 

यस्तै, सामाजिक विज्ञ सुरेन्द्रकुमार लिम्बू र वातावरणविद् लोकेन्द्र सुब्बाले आवास निर्माणसम्बन्धी वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमको प्रगतिबारे जानकारी गराएका छन् ।