close

करबाकेलीमा म्याग्दीको पहिचान झल्किने संग्रहालय 

करबाकेलीमा म्याग्दीको पहिचान झल्किने संग्रहालय 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ काफलडाँडास्थित करबाकेलीमा चन्दा संकलन गरेर संग्रहालय स्थापना गरिएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो ।

 

समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको बताए । 

 

‘कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ,’ उनले भने, ‘दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर राख्न थालेका छौँ ।’

 

संग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्री संकलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्का पनि संग्रहालयमा अवलोकन गर्न सकिनेछ । 

 

सामग्री सजावटको काम सकिएपछि संग्रहालय अवलोकनका लागि खुलाइने करबाकेली संरक्षण समितिले जनाएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधि प्रयोग गरेर २ तले भवन निर्माण भएको छ । 

 

ढुंगा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक २ तले भवन निर्माण भएको हो । भवन निर्माण र सामग्री खरिदमा हालसम्म करिब ६८ लाख रुपैयाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले बताए । 

 

‘अन्नपूर्ण गाउँपालिकाले ७ लाख र प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेका छन्,’ उनले भने, ‘बाँकी ५३ लाख स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । करबाकेली संरक्षण समितिले ३ लाख रुपैयाँ लगानी गरेको छ ।’ 

 

पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दीका सबै जातजाति र समुदायको साझा बनाइएको छ । संग्रहालयले परम्परागत सामग्री संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिए । 


पुन समुदायका कुलदेवता करबाकेली बाबाको अवशान भएको करबाकेलीमा २ करोड रुपैयाँ बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायत पूर्वाधार निर्माण भइसकेको छ ।

 

स्थानीयले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमतीद्वय हिमला, फिमला, छोराद्वय रामचन र कुलचनका मूर्ति छन् ।

 

मन्दिरको प्रवेश द्वारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरूले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलबार र मंसिरको पहिलो उजेली मंगलबार पारेर पूजा गर्छन् । 

 

करबाकेलीसम्म पुग्ने करिब १ किलोमिटर पदमार्ग र प्रवेश द्वार पनि निर्माण निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब १ हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

 

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । ९ वटा कोठा रहेको उक्त होटलमा दैनिक ५० जना बढी पाहुना बास बस्न सक्ने सुविधा छ । 

 

समुद्री सहतदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ«, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृंखलाका साथै म्याग्दी एवं पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

 

नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुन जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउँछन् । 

 

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनी बजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभीर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।