close

पशु बिमा कार्यक्रम चलाउँदै नमोबुद्ध

पशु बिमा कार्यक्रम चलाउँदै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० मा पशु बिमा कार्यक्रम सुरु भएको छ । आइतबार स्थानीय मनोहर कृष्ण श्रेष्ठको भैँसीको बिमा गर्दै पशु बिमा कार्यक्रम सुरु गरिएको हो । 

 

नमोबुद्ध नगरपालिका पशु सेवा शाखाका प्राविधिकले बिमाको टाँचा लगाइदिएपछि नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र नमोबुद्ध वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले श्रेष्ठलाई बिमालेख हस्तान्तण गरेर कार्यक्रम सुरु गरेका थिए । 

 

वडा नम्बर १० का सबै गाईभैँसीको यही आर्थिक वर्षभित्रै बिमा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

६ सय ७२ घरधुरी रहेको उक्त वडामा ८ सय हाराहारी गाईभैँसीको बिमा गर्ने लक्ष्य राखिएको वडाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए । 


सरकारले किसानलाई सहुलियत दिने उद्देश्यले बिमाको प्रिमियम रकममा ७५ प्रतिशत छुट दिएको छ भने बाँकी २५ प्रतिशत मात्रै किसानले तिरे पुग्ने व्यवस्था गरिएको छ । त्यसमा पनि किसानले २५ प्रतिशतको आधा मात्रै रकम तिरे पुग्ने र बाँकी रकम वडा कार्यालयका तर्फबाट बेहोर्ने वडाध्यक्ष अधिकारीले बताए ।

 

अधिकारीका अनुसार तत्कालीन पुरानागाउँ गाविस रहेको वडा नम्बर १० मा २०५६ देखि नै सामुदायिक पशु बिमा कार्यक्रम सुरु गरिएको थियो । तर, बीचमा विविध कारणले त्यसलाई निरन्तरता दिन नसकिएको र अब बिमा कार्यक्रमलाई बर्सेनि अघि बढाइने अधिकारीले बताए ।

 

नमोबुद्ध नगरपालिकाले गत वर्ष किसानलाई वितरण गरेको ११ वटा बोयर जातका बोकाको बिमा गरेको थियो । यो आर्थिक वर्षबाट नगरका सबै वडामा गाइभैँसीको बिमा गर्ने अभियान थालिएको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिए ।

 

शर्माका अनुसार तत्कालै वडा नम्बर ९ र १० मा यो कार्यक्रम अघि बढाइनेछ भने क्रमशः सबै वडामा बिमा कार्यक्रम लागू गरिनेछ । बिमा रकममा सहुलियतका लागि आवश्यक बजेट व्यवस्थापनसमेत गरिएको शर्माले बताए । 

 

पशु बिमा कार्यक्रम सुरु गर्नुअघि आइतबार नै वडा नम्बर १० को कार्यालयमा यसबारे छलफल गर्दै पशुपालक किसानलाई पशु बिमाका विषयमा अभिमुखीकरण गरिएको थियो ।

 

नगरपालिका उपप्रमुख तामाङ एवं वडाध्यक्ष अधिकारी सहभागी कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद साह, नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पशु बिमासम्बन्धी व्यवस्था, नेपालमा पशु बिमाको अभ्यास, यसका प्रक्रिया र फाइदाका विषयमा जानकारी दिएका थिए ।

 

उनीह्रूले पशुधनको सुरक्षाका लागि पशु बिमा कार्यक्रम ल्याइएको र सरकारले यसमा सहुलियतसमेत दिएकाले आफूले पालेका पशुको अनिवार्य बिमा गर्न किसानलाई आग्रह गरे । नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस बर्ष सीमित बजेटमा यो कार्यक्रम सुरु गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गर्ने जानकारी दिए ।

 

यसै वर्ष नगरपालिकाले किसानलाई भैँसी वितरणको कार्यक्रमसमेत सुरु गर्ने तयारी अघि बढाइसकेको पौडेलले बताए ।