close

अनुगमन समितिको अलमलले उपभोक्तालाई सास्ती

अनुगमन समितिको अलमलले उपभोक्तालाई सास्ती

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिकाअन्तर्गतको अनुगमन समितिको अलमल, निस्क्रियता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधिकारी मर्कामा परेका छन् । 

 

काम सकेको महिनौँसम्म अनुगमन समितिले स्थलगत निरीक्षण गर्न र प्रतिवेदन दिन ढिलाइ गर्दा उपभोक्ता समिति, निर्माण व्यवसायी र आपुर्तिकर्ताले समयमै भुक्तानी नपाएको गुनासो गरेका हुन् । 

 

उपाध्यक्ष केशमाया मगर नेतृत्वको अनुगमन समितिले स्थलगत निरीक्षणपछि गरेको सिफारिसको आधारमा प्राविधिकले बिल बनाएर भुक्तानी प्रक्रिया अघि बढाउने व्यवस्था छ ।

 

पटक–पटक बोलाउँदा पनि अनुगमन समिति नआउँदा भुक्तानी रोकिएर मजदुर, आपूर्तिकर्तालाई ज्याला दिन समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताए । 

 

समितिमा वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, कार्यपालिका सदस्य विष्णुकुमारी दमै, आत्म तुलाचन, थमबहादुर विक, योजना शाखाका अधिकृत हरिकृष्ण आचार्य र प्राविधिक शाखाका प्रमुख इञ्जिनियर ईश्वरबहादुर भण्डारी सदस्य छन् । 

 

आर्थिक वर्षको बीचमा प्रमुख प्रशासकीय परिवर्तन हुनु, योजना थपिनु र संशोधन हुनु, सरुवा भएर जाने र आउने प्रशासकीय अधिकृतले कार्यालयमा बसेर नियमित काम नगरेको, जम्बो अनुगमन समितिबीच समन्वय अभाव, टुक्रे योजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएको छ । 

 

दरबन्दीअनुसार प्राविधिक जनशक्ति नहुँदा एउटै प्राविधिकलाई ३ वटासम्म वडाका योजनाको जिम्मा लगाइएको छ । १, ७ र ८ नम्बर वडाका योजना बालकृष्ण पौडेल, २ र ४ को यामनारायण पौडेल, ३ नम्बर वडाको निश्चल चोखाल, ५, ६ नम्बर वडाका साथै ठेक्कामार्फत कार्यान्वयन हुने योजना रुचेन्द्र अधिकारीले हेर्छन् । 

 

प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलका अनुसार चालू आर्थिक वर्षमा खरिदजन्य ५१ वटासहित २०५ वटा योजना तथा कार्यक्रमलाई बजेट विनियोजन भएको छ । हालसम्म १३३ वटा योजना सम्झौता भएकामा ४१ वटाले निर्माण सकेर अन्तिम किस्ता भुक्तानी लगेका छन् । 

 

९२ वटा योजना कार्यान्वयनको क्रममा छन् । आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुँदा ७२ वटा सम्झौता बाँकी छ । १५ लाख रुपैयाँ बढी बजेट विनियोजन भएका ६ वटा योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको छ । 

 

कुल ४५ करोड १४ लाख ९ हजार ६२० हजार रुपैयाँ बजेट विनियोजन गरेको अन्नपूर्णले आइतबारसम्म ३७.०९ प्रतिशत अथवा १७ करोड ११ लाख २५ हजार ६० रुपैयाँ खर्च गरेको छ । चालूतर्फ २९ करोड ५७ लाख ७५ हजार ६२० रुपैयाँ विनियोजन भएकामा १३ करोड ६३ लाख ९० हजार ८२९ रुपैयाँ अथवा ४६.११ प्रतिशत खर्च भएको हो । 

 

पँुजीगततर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ विनियोजन भएकामा ३ करोड ४७ लाख ३४ हजार २३१ रुपैयाँ अथवा २२.३२ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । काम सकिएका आयोजनाका उपभोक्ता समितिलाई बोलाएर धमाधम भुक्तानी गरिरहेको उनले दाबी गरे । 

 

केही दिनअघि कार्यालयको प्रशासनिक एवं आर्थिक काम ठप्प बनाएर मुस्ताङ घुम्न गएपछि अन्नपूर्णका कर्मचारी र जनप्रतिनिधिको आलोचना भएको थियो । दवाव र गुनासो बढेपछि ४ दिने भ्रमणमा गएका उनीहरू दोस्रो दिनमै मुक्तिनाथबाट पोखरेबगर फर्किनुका साथै खर्चसमेत व्यक्तिगत हिसाबले बेहोर्ने घोषणा गरेका थिए । 

 

उपाध्यक्ष मगरले प्रमुख प्रशासकीय अधिकृत आएपछि अनुगमन गरेर भुक्तानीका लागि सिफारिस गर्न तीव्रता दिइएको बताइन् । एउटा वडाका योजनालाई एकै पटक अनुगमन गर्ने योजनाअनुसार आइतबार घोडेपानीबाट अनुगमन सुरु गरेको उपाध्यक्ष मगरले जानकारी दिइन् । 

 

गत असारको गाउँसभा र कार्यपालिका बैठकले गरेको वैशाखअघि नै पूर्वाधार योजना कार्यान्वयन सक्ने निर्णय कागजमै सीमिति बन्ने देखिएको छ । इञ्जिनियर ईश्वर भण्डारीले ४ जना प्राविधिकले ८ वटा वडा हेर्नुपर्ने र टुक्रे योजना धेरै भएकाले उपभोक्ता समितिले भन्नेबित्तिकै बिल बनाउन सक्ने अवस्था नरहेको बताए । 

 

तर, काम सकिएका योजनाको सूचना पाउनेबित्तिकै नापजाँच गरेर मूल्यांकन र बिल बनाउने गरेको उनले सुनाए । प्राविधिक शाखाबाट उपभोक्ता र निर्माण व्यवसायीलाई अल्झाउने काम नभएको उनको दाबी छ ।