close

बर्दिबासमा बुनिँदै हाटबजारको परिकल्पना

बर्दिबासमा बुनिँदै हाटबजारको परिकल्पना

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिकाभित्र हाटबजार व्यवस्थापन गर्न निर्माण परियोजना सार्वजनिक गरिएको छ । नगरपालिकाले बर्दिवास वडा नम्बर १४ स्थित १ बिघा क्षेत्रफलमा बनाइन लागेको हाटबजार निर्माण परियोजना आइतबार औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

 

७५ वर्षको परिकल्पना गरिएको उक्त बजार क्षेत्रमा ३ वटा १ तले र २ वटा २ तले बल्क गरी ५ वटा भवन, पार्क, मल्टिस्टोरेज पार्किङ स्थल रहने जानकारी दिइएको छ ।

 

जापानबाट पीएचडी गरेका डा. इन्जिनियर शिशिरबाबुले अत्याधुनिक सुविधासहितको बल्क, कलस्टर, पार्किङ, बर्दिबासको पहिचान झल्कने ऐतिहासिक बजारको रूपरेखा भिडियोको माध्यमबाट सार्वजनिक गर्दै वडा नम्बर १४ मा बन्न लागेको उक्त हाटबजार प्रदेश २ कै उत्कृष्ट बन्ने बताए ।

 

नुनदेखि सुनसम्म सम्पूर्ण सामान पाउने गरी बजारको बनावट तयार गरिएको छ । बजारभित्र प्रवेश गरेपछि वरपरको मनोरम दृश्यदेखि भेटघाट र गफिनका लागि पार्कसमेत निर्माण हुनेछ । २१ हजार ९ सय ४३ वर्गमिटरमा फैलिने हाटबजार बर्दिबासभित्रका संस्कार र संस्कृतिलाई प्रतिनिधित्व गर्ने हुँदा पर्यटकका लागिसमेत आकर्षक बन्नेछ ।

 

एउटा बल्कबाट अर्को बल्कमा जान अकासे पुल निर्माण गरिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकका लागि दृश्यावलोकन गर्न सकिनेछ । हाटबजारभित्र फोहोर व्यवस्थापनदेखि निःशुल्क वाइफाइको अवधारणा अगाडि सारिएको छ । 

 

सातामा २ दिन मात्र हाटबजार लाग्ने भए पनि अत्याधुनिक भवनसहित पर्याप्त ठाउँको व्यवस्थापन गरिएकाले अन्य टुक्रे व्यापारीले समेत हाटबजारभित्रको कलस्टर प्रयोग गर्न सक्नेछन् ।