close

साप्सु खोलाको मोटरेबल पुल ढलान गरिँदै

साप्सु खोलाको मोटरेबल पुल ढलान गरिँदै

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल ढलान सुरु गरिएको छ ।

 

करिब १ महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको हो ।

 

४० मिटर लम्बाइको प्रिस्ट्रेस बिम पुलको ठेक्का लिएको निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिले दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको उपस्थितिमा आइतबारदेखि ढलान सुरु गरेको हो ।

 

१८ वैशाखसम्म पुल ढलानको काम सम्पन्न हुने निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज हरिप्रसाद बरालले बताए । पुलको ढलान सुकाउन र टेन्डम वायर तान्न २८ दिन पर्खनुपर्नेछ । ढलान गरेको २८ दिनपछि टेन्डम वायर तानेसँगै पुलको अन्य काम सुरु हुने प्रोजेक्ट इन्चार्ज बरालले जानकारी दिए । 

 

संघीय र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्माको संयुक्त बजेटमा साप्सु खोलामा पक्की पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणमा गाउँपालिकाको २ करोड रुपैयाँ हाराहारी बजेट खर्च हुने जनाइएको छ । 

 

सूर्य एन्ड सन्स प्रालिले १७ जेठ २०७८ मा प्रिस्ट्रेस बिम पुल निर्माण सम्पन्न गर्ने गरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँमा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो ।

 

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुइचुम्माका अध्यक्ष राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका बेला पनि निर्माण कम्पनीले पुल निर्माणलाई निरन्तरता दिएको थियो । 

 

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आउजाउका लागि प्रिस्ट्रेस बिम पुल निर्माण अघि बढाइएको हो । प्रिस्ट्रेस बिममा तार घुसाएर त्यसलाई लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । 

 

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माण अघि बढाइएको दिप्रुङ चुइचुम्माका अध्यक्ष राईले बताए । 

 

सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुइचुम्माको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्नेछ ।