close

धनगढी पोलिटेक्निक इन्स्टिच्युट भवन शिलान्यास 

धनगढी पोलिटेक्निक इन्स्टिच्युट भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको धनगढी उप-महानगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) सँगको साझादारीमा सञ्चालनमा ल्याएको धनगढी पोलिटेक्निक इन्स्टिच्युटको भवन शिलान्यास गरिएको छ ।

 

धनगढी उप-महानगरका नगरप्रमुख नृपबहादुर वडले सोमबार भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणको ठेक्का जीके कन्स्ट्रक्सन धनगढीले लिएको छ । 

 

भवन शिलान्यास गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाले न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाउन् भनेर धनगढी उपमहानगरले बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको बताए ।

 

‘भक्तपुरको ख्वाप इन्जिनियरिङ कलेजपछि उपत्यका बाहिर आफैं प्राविधिक शिक्षालय सञ्चालन गर्ने धनगढी उप-महानगर पहिलो हो’, नगरप्रमुख वडले भने, ‘यहाँ न्यून शुल्कमा अटोमोबाइल इन्जिनियरिङ डिप्लोमा तह र होटल म्यानेजमेन्ट डिप्लोमा तहको पठनपाठन हुने गरेको छ ।’

 

सिटिइभिटीको सम्बन्धनमा अटोमोबाइल इन्जिनियरिङ डिप्लोमा तह र होटल म्यानेजमेन्ट डिप्लोमा तहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी पोलिटेक्निक इन्स्टिच्युट मात्रै भएको बताइएको छ ।

 

धनगढी उप-महानगरका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा न्यून शुल्कमा प्राविधिक शिक्षाको पठनपाठन भइरहेको बताइन् ।

 

धनगढी पोलिटेक्निक इन्स्टिच्युटले अटोमोबाइल इन्जिनियरिङ डिप्लोमा तह र होटल म्यानेजमेन्ट डिप्लोमा तहका अतिरिक्त छोटो समयका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै आईरहेको छ । उपप्रमुख भट्टले भनिन्, ‘हाम्रो उद्देश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’

 

धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा अटोमोबाइल इन्जिनियरिङ ३ वर्षे डिप्लोमा तहको १ लाख ८० हजार र होटल म्यानेजमेन्ट ३ वर्षे डिप्लोमा तहको १ लाख ५३ हजार रुपैयाँमा पढाइ पूरा हुने गरेको छ । यही विषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्छ ।