close

एमाले सांसदबाटै गण्डकी संसद् बैठक अवरुद्ध

एमाले सांसदबाटै गण्डकी संसद् बैठक अवरुद्ध

Trulli
ADVERTISEMENT

कास्की- सत्तारुढ नेकपा एमालेकै अवरोधले गण्डकीको प्रदेशसभा बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न सोमबारदेखि विशेष अधिवेशन चलिरहेको छ ।

 

दोस्रो दिनको बैठकमा एमालेका सांसदहरूले उभिएर अवरोध गरे । कोभिड- १९ को संक्रमण भयावह हुँदै गएको भन्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

 

‘कोभिड संक्रमणको अवस्था जटिल बनेको छ । पोखरामा पनि क्रमशः भयावह हुँदै छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेको छ,’ एमाले सांसद राजीव पहारीले भने, ‘नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएको अवस्थामा यो संसद् चलाउनु हुँदैन । कोभिडको चेन ब्रेक गर्न आदेशविरुद्ध जान सकिँदैन ।’ 

 

प्रदेशसभाका सांसद पनि दीर्घरोगको सिकार भएकाले कोभिड–१९ को असर बढी पर्ने सांसद पहारीले बताए । ‘सबै सांसदको पिसिआर टेस्ट गरियोस् । आधाभन्दा बढी सांसदले भ्याक्सिन लगाउनुभएको छैन । सरकारले नै २५ जना बढी भेला हुन नपाउने निर्देशन जारी गरेको छ,’ उनले भने, ‘सामान्य विधि पालना नगरीकन बैठक चलाउँदा माननीय वा कर्मचारीको मृत्यु हुन पुगे त्यसको जिम्मेवारी कसले लिने ?’


सांसद पहारीले संसद्भित्र २ सय बढीको उपस्थितिमा बैठक बस्नु सरकारी मापदण्डविपरीत भएको दाबी गरे । सांसदहरू नै विभिन्न प्रकारका रोगबाट ग्रसित भएकाले बैठक सञ्चालन नगर्न उनले सभामुखको ध्यानाकर्षण गराए ।

 

‘धेरै माननीयहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या छ । प्रेसर, सुगर, थाइराइड,लगायत दीर्घ रोगबाट ग्रसित हुनुहुन्छ,’ पहारी भन्छन्, ‘उहाँहरूलाई बढी संक्रमण हुने देखिएको छ । सभामुखले रुलिङ गर्नुभएन ।’ एमालेको अवरोधपछि संसद् बैठक २० मिनेटका लागि स्थगित भएको छ ।