close

तिलोत्तमामा झन्डै ८ हजारले भरे सुकुम्बासी आयोगको फाराम 

तिलोत्तमामा झन्डै ८ हजारले भरे सुकुम्बासी आयोगको फाराम 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा झन्डै ८ हजार जनाले भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फाराम भरेका छन् ।

 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रूपमा ७ हजार ९ सय १८ जनाले लगत संकलन फाराम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले बताए ।

 

तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, १७४० जनाले भूमिहीन सुकुम्बासी र ५५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फाराम भरेका हुन् ।

 

नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ११ बाट आयोगको लगत संकलन फाराम भरिएको छ ।

 

यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र २०७६ जना अव्यवस्थित बसोबासी गरी २७९१ जनाले फाराम भरेका छन् ।

 

यस्तै, वडा नम्बर १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी १०९६ जनाले फाराम भरेका छन् । 

 

वडा नम्बर ७ बाट ५६२, वडा नम्बर १० बाट ५५३, वडा नम्बर ४ बाट ५३३, वडा नम्बर ३ बाट ४५९, वडा नम्बर १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फाराम भरेको नगरपालिकाले जनाएको छ ।

 

वडा नम्बर १७ मा सबैभन्दा कम भूमिहीन दलित ७, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फाराम भरेका छन् ।

 

यस्तै, वडा नम्बर २ मा ७४, वडा नम्बर ५ मा ७२, वडा नम्बर ९ मा ८१ जनाले आयोगको फाराम भरेका छन् । वडा नम्बर १ बाट १४१, वडा नम्बर ६ बाट ३१६, वडा नम्बर ८ बाट ३६६, वडा नम्बर १३ बाट १५९, वडा नम्बर १४ बाट ४२३, वडा नम्बर १५ बाट १०७ र वडा नम्बर १६ बाट १३६ जनाले आयोगको लगत संकलन फाराम भरेका छन् ।

 

तिलोत्तमाले भूमिसम्बन्धी समस्या समाधान आयोगको इकाइ कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार ९ माघबाट लगत संकलन सुरु गरेको थियो ।

 

कतिपय वडाले टोल-टोलमै पुगेर लगत संकलन गरेका थिए । त्यसका लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकामा जनप्रतिनिधिका साथै वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो ।

 

वडाबाट प्राप्त लगतलाई कम्प्युटरमा इन्ट्री, फाइल स्क्यानिङलगायत काम अघि बढेको शाखा अधिकृत पोखरेलले बताए । 


उनका अनुसार जग्गा नापजाँचका लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षण सकिएकामा वडा नम्बर ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाका लागि पिलरसमेत राखिँदै छ ।


फिल्ड कार्यका लागि आवश्यक उपकरण र नापजाँचका लागि जनशक्ति व्यवस्थापन भइसकेको नगरपालिकाले जनाएको छ । शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचमा खटिनेछ ।