close

त्रियुगाको पुँजीगत खर्च २७ प्रतिशत मात्रै

त्रियुगाको पुँजीगत खर्च २७ प्रतिशत मात्रै

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाले ९ महिनामा २७ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । हरेक वर्ष असार मसान्त नजिकिएका बेला रातारात खर्च गर्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाउने देखिएको छ । 

 

त्रियुगा नगरपालिकाको पुँजीगत खर्च अवस्था हेर्दा विकास बजेट खर्चिन असारै पर्खनुपर्ने देखिन्छ । वैशाख लाग्दासम्म त्रियुगा नगरपालिकाको चालू र पुँजीगत खर्च जम्माजम्मी ४२ प्रतिशत हाराहारी छ । 

 

चालूतर्फ चैत मसान्तसम्म ५८.७४ प्रतिशत खर्च गरेको नगरपालिकाको पुँजीगततर्फ २७ प्रतिशत मात्र भएको लेखा शाखाले जनाएको छ । चालूतर्फ कर्मचारी तलब भत्तादेखि शिक्षा, स्वास्थ्य, विभिन्न तालिम गोष्ठी, भ्रमणलगायत शीर्षक खर्च समेटिन्छ । 

 

पुँजीगततर्फ भौतिक पूर्वाधारलगायत विभिन्न विकास निर्माणसँग सम्बन्धित खर्च पर्छ । चालूतर्फ ४३ करोड ५८ लाख ९२ हजार बजेट थियो । पुँजीगततर्फ ६० करोड ४१ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । 


उक्त रकममध्ये चैत मसान्तसम्म दुवैको खर्च प्रतिशत जोड्दा जम्मा ४२. ३७ प्रतिशत हुन आउँछ । त्रियुगा नगरपालिकाको चालू वर्ष स्वीकृत बजेट १ अर्ब ४ करोड रुपैयाँ हो । त्यसमा संघबाट ५३ करोड ७४ लाख ४५ हजार र प्रदेशबाट २ करोड ४८ लाख ६० हजार छ । 

 

बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोत, राजस्व बाँडफाँट र दातृ निकायबाट प्राप्त हुनेछ । नगरपालिकातर्फ वित्तीय समान्यीकरण २१ करोड १ लाख, राजस्व बाँडफाँट १६ करोड ३ लाख २७ हजार ७१ तथा आन्तरिक स्रोततर्फ ९ करोड ३७ लाख ४१ हजार र सडक बोर्डतर्फ ५० लाख रुपैयाँ वार्षिक बजेट नगरसभाबाट स्वीकृत भएको छ । 

 

नगरपालिकाको आर्थिक वर्षको ९ महिनासम्म चालू खर्च सन्तोषजनक देखिए पनि पुँजीगत खर्च न्यून देखिएको छ । लेखा प्रणालीमा खर्च कम देखिए पनि खर्चको तीन गुणसम्म काम भई भुक्तानी दिन बाँकी रहेकाले तथ्यांकमा कम देखिएको नगरपालिकाको तर्क छ । 

 

उपभोक्ता समिति र ठेक्कामार्फत गरिने धेरै योजना अन्तिम चरणमा पुगेकाले पुँजीगत खर्च ८० प्रतिशतभन्दा माथि पुगिसकेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए ।

 

सडक स्तरोन्नति, ग्राभेल र कालोपत्रे, नाला निर्माण, खानेपानी र भवनजस्ता धेरै योजना निर्माण सकिएर भुक्तानीको पर्खाइमा रहेकाले खर्च प्रतिशत थोरै देखिए पनि यथार्थमा त्यस्तो नभएको उनको दाबी छ ।