close

भक्तपुरमा कोरोनाविरुद्धको खोप लगाउनेको घुइँचो, 

७ घन्टासम्म पनि आउँदैन पालो

भक्तपुरमा कोरोनाविरुद्धको खोप लगाउनेको घुइँचो, 

७ घन्टासम्म पनि आउँदैन पालो

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरका राम श्रेष्ठ कोरोनाविरुद्धको खोप लगाउन बिहान ७ बजे नै भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पुगे । तर, दिउँसो १ बज्दा पनि खोप पाएनन् । 

 

‘सामाजिक सञ्जालबाट १८ देखि ५९ वर्षका उमेर समूहलाई खोप दिने खबर थाहा पाउनेबित्तिकै जनस्वास्थ्यमा लाइन बस्न आएँ । तर, मेरो पालो आउँदा भ्याक्सिन नै सकियो भन्ने खबर आयो,’ उनले भने, ‘लिन गएको छ । अब कुन बेला आउँछ । टुंगै छैन ।’ उनले बिहानैदेखि खोप लगाउन आएकाले खानासमेत नखाएको गुनासो गरे ।

 

उनी मात्रै होइनन् । कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्र पुगेका अधिकांशको अवस्था उस्तै छ । ‘कोरोनाविरुद्धको खोप लगाएपछि कोरोना लाग्दैन रे । त्यसैले बिहानै खोप लगाउन आएको तर लाइन नै यति लामो छ,’ स्थानीय सीता थापाले भनिन्, ‘बिहान खानै नखाई आएकाले असह्य भोक लाग्यो । त्यसैले बिस्कुट र पानी खाएर बसेकी छु ।’

 

जनस्वास्थ्य केन्द्रले ८ बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाउने भने पनि बिहान ५ बजेदेखि नै लाइने बस्नेको घुइँचो लागेको छ । खोप सीमित भएकाले टोकनको व्यवस्था गरिएको थियो । तर, भ्याक्सिन नै सकिएपछि १२ बजेदेखि टोकन वितरण रोकिएको केन्द्रले जनाएको छ । 

 

खोप लगाउनेको घुइँचो व्यवस्थापन गर्न नसकेपछि केन्द्रको गेट नै बन्द गरिएको छ । घुइँचो बढेपछि सुरक्षाकर्मी र जनस्वास्थ्यका कर्मचारीसँगै इन्चार्ज रत्नसुन्दर लासिवासमेत टोकन नपाएकालाई घर जान आग्रह गर्दै थिए । तर, भीड नियन्त्रणमा हम्मेहम्मे भएको थियो । 

 

केन्द्रका अनुसार खोप लगाउन आएकालाई टोकन व्यवस्था गरिएको थियो । अनुमानित संख्याभन्दा धेरै खोप लगाउन आएकाले भीडभाड भएको लासिवा बताउँछन् । उनले भने, ‘भीड नियन्त्रण गर्न कठिन भयो । पटक-पटक माइकिङ गरियो तर अवस्था उस्तै छ ।’

 

कोरोनाविरुद्धको खोप लगाएमा भाइरस संक्रमणमुक्त नहुने बताउँछन्, स्वास्थ्यकर्मी । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार खोप लगाए कोरोना जोखिम कम हुने भए पनि सय प्रतिशत ग्यारेन्टी छैन । ‘आफैं सुरक्षित हुनु पर्छ,’ डा. गौतमले भनिन् ‘खोप लगाएका पनि सुरक्षित छैनन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सामाजिक दूरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्नुपर्छ ।’