close

दिक्तेल-खानीडाँडा-आहाले सडक: म्याद सकिन लाग्दा आधा मात्रै काम

दिक्तेल-खानीडाँडा-आहाले सडक: म्याद सकिन लाग्दा आधा मात्रै काम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल-आहाले (१०.९७४ किलोमिटर) खण्ड डिबिएसटी कालोपत्रेको म्याद सकिन लाग्दा ४८ प्रतिशत मात्र भौतिक प्रगति देखिएको हो ।

 

७ चैत २०७६ सम्मको सम्झौता म्याद गुज्रिएपछि थप भएको म्याद पनि आगामी २९ वैशाख २०७८ मा सकिँदै छ । थप भएको म्याद सकिन लाग्दासमेत सडक कालोपत्रेको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशत मात्र देखिएको कन्सल्टेन्ट इन्जिनियर चञ्चलकुमार झाले बताए । 

 

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले बाँकी म्यादभित्र सडक कालोपत्रेको काम नसक्ने निश्चित छ । निर्माण कम्पनीले ७ चैत २०७६ भित्र सम्पन्न गर्ने गरी १ असोज २०७५ मा सडक कालोपत्रेको सम्झौता गरेको थियो । 

 

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँ खर्चमा कालोपत्रे सुरु गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा सडक कालोपत्रेको वित्तीय १४.२३ प्रतिशत र भौतिक प्रगति ९.१४ प्रतिशत मात्र भएको कन्सल्टेन्ट इन्जिनियर झाले जानकारी दिए । 

 

निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा पिच गर्ने गरी कालोपत्रेको ठेक्का लिएको हो । १८ महिनाभित्र पूरा गर्ने गरी ठेक्का लागेको कालोपत्रेको काम १ मंसिर २०७५ मा प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

 

सुरु दिनमा तीव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त भएपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ । 

 

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहीन भएको पाइएपछि प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय खोटाङले २०७६ मा केही समय रोकेको थियो । 

 

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्नका लागि ६ दिनअघि मौखिक रूपमा जानकारी गराएको कार्यालयले ९ पुस २०७६ मा लिखित पत्राचार गरेको थियो । माटो मिसिएको बालुवा तथा १ टिन सिमेन्टसँग १० टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासोपछि कार्यालय ‘एक्सन’ मा उत्रिएको थियो ।

 

त्यतिबेला गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिटीलगायत स्याम्पल नै उठाइएको थियो । लगत्तै २३ पुस २०७६ मा प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकासमन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङलगायतको टोली सडकको कामको स्थलगत अनुगमनमा गएको थियो ।

 

सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागार्इंलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौलागार्इंले गरेका प्रतिबद्धताअनुसार सडकको काममा प्रगति भएन । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल-रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । 

 

हाल सञ्चालनमा रहेको दिक्तेल-महुरे-फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल-रेग्मीटार सडक पूर्वी तराई आउजाउका लागि बढी प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले बताए ।

 

सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आउजाउ गर्ने स्थानीय लाभान्वित हुनेछन् । 

 

निर्माण कम्पनीका प्रतिनिधि फेरिए 

 

दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले प्रतिनिधि परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले हाल खगेन्द्र राईलाई चयन गरेको छ ।


याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले ८ चैतमा सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए ।

 

प्रतिनिधि राईले कामको जिम्मा लिएलगत्तै आवश्यक निर्माण सामग्री जुटाएर ५ वैशाखदेखि सडक कालोपत्रेलाई अघि बढाएको कार्यालयले जनाएको छ ।