close

भक्तपुर अस्पतालको आइसोलेसन पुनः सञ्चालनमा

भक्तपुर अस्पतालको आइसोलेसन पुनः सञ्चालनमा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर अस्पतालको आइसोलेसन पुनः सञ्चालनमा आएको छ । कोरोना संक्रमितको संंख्या बढेसँगै अस्पतालले ६४ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको हो । 

 

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले ६४ शय्यामध्ये ३३ बेड जनरल, २५ बेड हाइकेयर युनिट र ६ बेड आइसियु रहेको बताइन् । अस्पतालमा अहिले जम्मा २३ जना संक्रमित रहेकामा आइसियुमा ४ जना रहेको उनले जानकारी दिइन् ।

 

‘आइसोलेसनका लागि सबै स्वास्थ्यकर्मी तथा सहकर्मी लागिपरेका छौँ । कोभिडको संख्या बढदै गए बेड पनि बढाउँदै र व्यवस्थित गर्दै जानेछौँ,’ उनले भनिन् । सकेसम्म बेड नै बढाउन नपर्ने गरी सुरक्षित भएर घरमा बस्न पनि उनले नागरिकलाई आग्रह गरिन् ।

 

गौतमका अनुसार अस्पतालमा एकै पटक सय जनालाई पिसिआर परिक्षण गर्न सकिन्छ । अहिलेसम्म कोरोना संक्रमित सबैको निःशुल्क उपचार भइरहेको उनको भनाइ छ । प्रदेश सामाजिक विकास मन्त्रालयबाट अस्पतालका लागि मेसिन खरिद गरिएको हो । भक्तपुर अस्पतालको आइसोलेसनमा १९ र आइसियुमा ४ गरी जम्मा २३ बिरामी उपचाररत छन् ।

 

भक्तपुर अस्पताललाई कोभिड अस्पताल बनाइए पनि बिरामीलाई उपचारबाट वञ्चित नगराउन अन्य सेवा पनि दिइएको गौतमले बताइन् । भक्तपुरमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय ६५ छ । यीमध्ये ३८ जना अस्पताल आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ६ सय २७ जना रहेका छन् ।