close

दिक्तेल रुपाकोट मझुवागढीले बनायो आइसोलेसन सेन्टर 

दिक्तेल रुपाकोट मझुवागढीले बनायो आइसोलेसन सेन्टर 

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ का संक्रमितलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । 

 

दिनानुदिन कोभिड-१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई दृष्टिगत गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

 

नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेसन सेन्टर निर्माण गरेको हो ।

 

कोभिड-१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । 

 

आयुर्वेद स्वास्थ्य केन्द्र्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्ने गरी बेड मिलाइएको छ । सेनाले नगरपालिकाले उपलब्ध गराएको सामग्रीबाट २ दिन लगाएर आइसोलेसन सेन्टर तयार पारेको हो । 

 

नरपालिकाभित्र फेला परेका संक्रमितलाई सोही आइसोलेसनमा लगेर उपचारमा राखिनेछ । हाल बेड मात्र राखिएको आइसोसेलन सेन्टरमा तत्काल अक्सिजन सिलिन्डरको व्यवस्था गरिने नगरप्रमुख रिजालले जानकारी दिए । आइसोसेलन सेन्टरमा विद्युत् र पानी व्यवस्थापनको भने कमी देखिएको छ । 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको १३ वैशाखमा बसेको बैठकको निर्णयअनुसार नगरपालिकाले आइसोसेलन सेन्टर तयार गरेको हो । 

 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका १० स्थानीय तहमध्ये नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । 

 

यस्तै, स्वास्थ्य सुरक्षाका सामग्रीको आपूर्ति व्यवस्था मिलाई तयारी अवस्थामा रहन, भिटिएम तथा एन्टिजेन टेस्ट किटको स्टक व्यवस्थापन गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउन भनिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले बताएको छ ।

 

स्थानीय तहले नाका वा सीमा पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दूरी कायम गर्न जनचेतनामूलक कार्यक्रम र सन्देश प्रवाह गर्ने-गराउनुपर्नेछ ।