close

जुम्लामा कोरोना संक्रमित भेटिएसँगै बन्द भए विद्यालय

जुम्लामा कोरोना संक्रमित भेटिएसँगै बन्द भए विद्यालय

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । जिल्ला अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परीक्षण गर्दा ९ जना संक्रमित भेटिएका छन् । उनीहरूको आइसोलेसनमा उपचार भइरहेको छ ।

 

कोरोना संक्रमण बढिरहेका बेला जुम्लामा १५ वैशाखदेखि विद्यालय बन्द गरिएको छ । यहाँका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो । 

 

जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनग विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।

 

‘तत्कालका लागि कोरोना संक्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय भयो’, उनले भने, ‘निर्णयबमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुनेछ ।’

 

बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत संकलन गर्ने, जुम्ला-कालीकोटको सीमा नाग्ममा हेल्थ डेस्क स्थापना गर्ने र प्रत्येक वडा स्तरमा लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ । यसैगरी गाउँपालिकाभित्र संकलन भएको लगत जानकारी गराउन हरेक पालिकामा सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको छ ।

 

भेला-सम्मेलनमा कडाइ

 

कोरोना संकट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढीमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । 

 

त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्नेे, घटना घटिसकेको अवस्थामा आवश्यक सामग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग आर्थिक सहयोग माग्नेसमेत निर्णय भएको छ ।

 

हरेक गाउँपालिकाले कोभिड-१९ नियन्त्रणसम्बन्धी रणनीतिक योजना बनाउनुपर्ने र ३ दिनपछि बस्ने संकट व्यवस्थापन समितिको बैठकमा पेस गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

 

कार्यालयले नागरिकलाई मास्क प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले नियमित हात धुन र व्यक्तिगत तथा सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । कोरोनाको लक्षण देखिनेबित्तिकै नजिकैको कोभिड अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जाँच गराउन सुझाइएको छ ।