close

मछली खोजेरै घर खर्चको जोहो

१२ वर्षको उमेरमा जिम्मेवारीकाे भारी

मछली खोजेरै घर खर्चको जोहो

१२ वर्षको उमेरमा जिम्मेवारीकाे भारी

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ तिङताराका १२ वर्षीय शेरबहादुर पुन दैनिक सानीभेरी नदीमा भेटिन्छन् । हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुनको दैनिकी सानीभेरी नदीमै बित्छ । उमेरमा चिचिलो भए पनि उनीमाथि ठूलो जिम्मेवारी छ । 

 

दिनभरि माछा मारेर उनी परिवारको गुजाराका लागि केही सहयोग गर्छन् । उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ ।  १० वर्षको उमेरदेखि नै पुनले नदीमा र जाल हानेर माछा मार्ने काम गर्छन । अब उनी माछा मार्न निपुण भइसकेका छन् । सुरु-सुरुमा दाइसँग माछा मार्न जाने उनी अहिले भने एक्लै हुइँकिन्छन् ।

 

दाइ रोजगारीका लागि भारततिर हानिएपछि उनी एक्लिएका हुन् । ‘उनी भन्छन्, ‘अब माछा मार्ने काम मेरा लागि सजिलो भइसकेको छ ।’ बिहानै निस्किएका उनी दिनभर माछा मार्नमै व्यस्त हुन्छन् । बिहानै घरबाट निस्किने र दिनभर नदीमै माछा मारेर बिताउने उनको दैनिकी हो ।

 

जाडो होस् वा गमी । उनी नदीमै भेटिन्छन् । ‘कहिले धेरै भेटिन्छन्, कहिले थोरै माछा हात लाग्छन् । कहिले रित्तै फर्किनुपर्छ’, शेरबहादुर मुस्कुराउँछन् । माछा बिक्री गरेर आएको पैसा उनले घरमा दिने गरेका छन् । यसले उनको परिवारलाई थोरै भए पनि घर खर्च चलाउन सहयोग पुगेको छ । 

 

उनका बुबा मनबहादुर पनि माछा मार्ने काम गर्छन् । आर्थिक अवस्था कमजोर रहेको र रोजगारीको कुनै माध्यम नहुँदा पुन परिवारलाई गुजारा चलाउन मुस्किल छ । आर्थिक समस्याका कारण सानै उमेरदेखि विद्यालय जाँदैनन्, शेरबहादुर । आर्थिक अभावले छोरालाई विद्यालय पठाउन नसकिएको बुबा मनबहादुर बताउँछन् ।


‘एउटा छोरो रोजगारीका लागि भारतमा छ । अर्को छोरा गाउँतिरै ज्याला मजदुरी गर्छ । यो कान्छो छोरालाई पनि विद्यालय पठाउन सकेको छैन,’ उनले भने, ‘घरव्यवहार चलाउने पैसा छैन । कसरी विद्यालय पठाउनू ।’ कुनै छोरालाई पनि पढाउन नसकेको उनको भनाइ छ । ‘सानै छ तर यो कान्छो छोराले पनि घर खर्च चलाउन सघाइरहेको छ,’ उनले भने ।

 

मनबहादुरको ५ जनाको परिवार छ । श्रीमान्, श्रीमती र ३ छोरा गरी ५ जनाको परिवारमा शेरबहादुर कान्छा हुन् । शेरबहादुरलाई विद्यालय जाने रहर छ तर घरको अवस्थाले नसकिने उनी बताउँछन् । ‘पढ्ने रहर छ तर के गर्नु घरमा पैसा छैन’, उनी भन्छन्, ‘घरका सबैले दिनभर काम नगरी साँझ-बिहान खान पुग्दैन । कसरी स्कुल जानू ?’